बुद्ध एयरले ल्यायो नयाँ एटीआर–७२ जहाज, भाडा सस्तो गर्दै

साझा कथा । आन्तरिक उडानमा नेपालको सबैभन्दा ठूलो विमान कम्पनी बुद्ध एयरले आफ्नो व्यवसायिक दायरा झनै फराकिलो बनाएको छ ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको हो । कम्पनीले शुक्रबार १५औँ एटीआर–७२ जहाज भित्र्याएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बुद्ध एयरका १५ एटीआर जहाज पुगेका छन् । यीमध्ये १२ एटीआर–७२ र तीन एटीआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।

नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटीआर–७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?