आज अक्षय तृतीया – किन खाइन्छ सर्बत र सातु ?

साझा कथा । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज (आइतबार) मनाइँदैछ । जौँ र चनाको सातु एवम् चिसो पानीको सर्बत खाँदै र खुवाउँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

हिन्दू संस्कृतिमा धर्मका विविध पक्षहरू छन् । जसरी दक्षिणायमा पर्ने शुक्ल र कृष्ण पक्षमा आआफ्नै किसिमका पर्वहरू पर्छन् भने त्यस्तैगरी वैशाख महिनामा पर्ने उत्तरायणको मध्यभागमा पर्ने वैशाख शुक्ल तृतीया तिथिको एउटा महत्वपूर्ण धार्मिक स्थान राख्दछ । अक्षय तृतीया तिथिकै नामबाट पर्वभरका अत्यन्त पवित्र दिनमध्ये एक मानिन्छ । अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतीक समेत मानिन्छ ।

यसदिन पशुपतिनाथमा ठूलो मेला लाग्ने गर्दछ । पशुपतिनाथ मन्दिरमा आइतबार पनि पूजा आराधना र दिन दुःखीहरूलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरूको भीड लागेको छ । आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको कथन छ । अक्षय तृतीया पर्वमा सर्बत खाँदा र खुवाउँदा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

वैशाख महिनाको प्रचण्ड खडेरीमा अन्न दान, जल दान आदि गर्नु अवश्य नै महत्वपूर्ण कुरा हुन् । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्द्धक अन्न जौँ र चनाको सातु खाने परम्परा रहेको हो ।

अक्षय तृतीया पर्व सातु–सर्वत दान गरेर र आगन्तुकहरूलाई यी खाद्यवस्तु खुवाएर मनाइन्छ । यस मौसममा फल्ने जौँको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्वतले प्यास मेटाइ शीतलता प्रदान गर्दछ । सातु अर्थात् पिसेको अन्नको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि आडिलो खानेकुरा हो ।

हुनत हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरू पनि प्रायशः पौष्टिक भोजनसँग जोडिएका छन् । भदौ महिनामा हामीले जनैपूर्णिमा मनाउँछौँ, क्वाँटी खान्छौँ । असार पन्ध्रमा हामी दही–चिउरा खान्छौँ । त्यसैगरी साउने सङ्क्रान्ति, साउन १५, ठूली एकादशी, दसैँ, तिहार, छठ, ल्होसार, माघे सङ्क्रान्ति आदि पर्वमा खाइने भोजनमा समयानुसार आवश्यक पर्ने पौष्टिक तत्व सहजै पाइन्छ ।

यस्तै विभिन्न जातजाति तथा समुदायले चाडपर्वमा खाने खाना पनि समयानुसारका पौष्टिक छन् । हामीले हाम्रा पुर्खाहरूले यस्तो चलन किन चलाएका होलान् भनेर विचार ग¥यौँ भन्ने अनुभव हुन्छ कि उनीहरूलाई परम्परागतरूपमा कुन बेलामा के फल्छ, त्यहीअनुसार खानुपर्छ भन्ने राम्रोसँग ज्ञान थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?