आदिकवी भानुभक्तले कुनै समय भन्ने गरेको अमरावति कान्तिपुरी नगरी अहिले धुलो नगरी भएको छ । यहाँ धुलो र धुँवाको साम्राज्य छ । चलचित्र लुटमा हाकु कालेले भने जस्तो रहरको सहर पनि छैन काठमाडौं । कोलाहल र कुरुपताले भरिपूर्ण काठमाडौं वास्तवमै उकुसमुकुस हुने खालको छ । तपाइहरुले महशुस गरिरहनु भएको छ होला, अहिले काठमाडौं उपत्यकामा हिड्दा घुम्दा आँखा पिरो भइरहेको छ । टाउको पनि दुख्न थालेको छ । निलो हुनुपर्ने आकाश सेताम्मे र धुम्म छ ।
सामान्य अवस्थामा काठमाडौंका धेरै स्थानबाट देखिने हिमाल त परको कुरा नजिकैका पहाड समेत छोपिएका छन् । कुहिरोजस्तै प्रदुषित वायुले काठमाडौं घेरा हालेको छ । सास फेर्नै मुस्किल छ । अहिलेको यो अवस्था नयाँ भने होइन । विशेषगरी हरेक बर्ष चैत–बैशाखको समयमा काठमाडौंले यस्तो उकुसमुकुसको अवस्था भोग्दै आइरहेको छ ।
दशकौँदेखि काठमाडौं निर्माणकै चरणमा छ । कहिल्यै नसकिने विकासका काम चलिरहेका छन् । भएका सडकमा पीच उप्किएका छन्, कतै पीच नै छैन, सडक सफा छैन । वर्षौं पुराना गाडिबाट धुँवाको मुस्लो निस्किरहेको छ । परिणाम काठमाडौंको वायुमण्डल धुँवा र धुलोले भरिएको छ । स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार चैत्र ३० गतेदेखि काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको हो । बैशाख २ गते त प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमै थियो । काठमाडौंमा वायु प्रदूषण अचानक बढेको भने होइन र प्रदूषणका कणहरू एक दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् ।
काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुँवा पनि मिसिइरहेको छ । गत बिहीबार धुँवाको मात्रा अलि धेरै बाक्लिएको मात्र हो । विज्ञहरुका अनुसार काठमाडौं धुम्म हुनुमा डढेलोबाट सिर्जित धुँवाको ५० प्रतिशत मात्रै योगदान छ । बाँकी काठमाडौंमै सिर्जित धुँवा र धुलो नै हो ।