बहुदलपछि पहिलोपटक समयमै पुगे पाठ्यपुस्तक

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री प्रचण्डले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जसअनुसार हालसम्म देशभरका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् भने केही जिल्लामा बाँकी रहेको भएपनि विद्यार्थी भर्ना अभियान जारी रहँदासम्म सबैले प्राप्त गरिसक्नेछन् । विगतका वर्षमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपाउने अवस्था यसपटक भने अन्त्य भएको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको केन्द्रका अनुसार वैशाख १० गतेसम्म देशभरका सबै विद्यालयमा पुस्तक पुगिसक्नेछन् ।

केन्द्रका अनुसार कूल ५९ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीले करिब शतप्रतिशत नै पाठ्यपुस्तक पाएका छन् भने १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पुर्‍याइनेछ । पुस्तकको अनुहार नै देख्न नपाइ परीक्षा दिनुपर्ने विगतको समस्या यसपटक भने विद्यार्थीले भोग्नु नपर्ने केन्द्रको भनाइ छ ।

सरकारले यस वर्षका लागि कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक निजी क्षेत्र र कक्षा छदेखि १०सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा केन्द्रको थियो । निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी अनुसार कूल एक करोड १२ लाख ५६ हजार थान पुस्तक सम्बन्धित विद्यालयमा पुर्‍याइरहेको छ । जनक शिक्षाले एक करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरणको काम समेत सम्पन्न गरिसकेको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा यसपटक समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री दाहालको निरन्तरको चासो र सहजीकरण भएको बताउँछन्। “प्रधानमन्त्रीको निर्देशनपछि प्रधानमन्त्री कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सहजीकरण गरिदिनुभयो”, उनले भने, “फलस्वरूप हामीले २४सै घण्टा छपाइ गरी समयमै पुस्तक पुर्‍याउन सक्यौँ ।” उनका अनुसार २०४६ सालको बहुदलपछि पहिलो पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गर्न सकेका हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?