२०७९ का सात चर्चित परिघटना – विभिन्न काण्डदेखि ‘धोकेबाज’सम्म

३ सय ६५ दिनमा नयाँ साल सुरु हुन्छ । बर्षहरु आउँछन् जान्छन् । कुनै बर्षले धुरुधुरु रुवाउँछन्, कुनै बर्षले मीठा गुन लगाएर छोड्छन् । बर्षहरु वित्छन् तर रहन्छन् सम्झनाहरु । कतिपय सम्झन लायक त कतिपय विर्सन लायक बर्षहरु । २०७९ मा पनि सम्झनपर्ने र विर्सनपर्ने कैयौँ परिघटनाहरु भए । त्यसमध्येका ७ विषयगत परिघटनाहरु साझा कथामा…

राजनीति
सम्भावना नै सम्भावनाहरुको खेल बनेको नेपालको राजनीति अनुमानभन्दा बाहिर जानु नौलो भएन । ती सम्भावनाहरुबाट सिर्जित राजनीति कहिलेकाँहि सकारात्मक पहलकदमी बनिदिन्छ भने कतिपय परिघटना विकृत भइदिन्छ । २०४६ सालपछि नै विकृत बनेको हाम्रो संसदीय अभ्यास २०७९ सालमा पनि किन पछि हट्थ्यो र ? त्रिशंकु संसद, दलहरुबीच आरोप प्रत्यारोप, सरकार गठनको रस्साकस्सी, गठबन्धनको अदलबदल, सांसदहरुलाई सकस…यो बर्षले पनि यिनै नियति भोग्यो ।

२०७९ साल चुनावको बर्ष बन्यो । यो बर्षको पहिलो महिनामै स्थानीय निर्वाचन भयो । ७५३ स्थानीय तहमध्ये नेपाली काँग्रेसले ३२९ पालिकाको प्रमुख जित्यो भने एमाले २०६ पालिका जित्दै दोस्रो पार्टी बन्यो । तर ३५ हजार जनप्रतिनिधि रहेको स्थानीय तहमा एमालेका प्रतिनिधीहरू धेरै छन् । माओवादीले भने १०६ पालिका जित्दै तेस्रो बन्यो । स्वतन्त्र उमेदवारहरु बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल जस्ता व्यक्तिहरुले देशका महत्वपूर्ण पालिकाहरुमा जीत हासिल गरेपछि यसबर्षको स्थानीय चुनाव अघिल्ला बर्ष भन्दा रोचक र भिन्न देखियो ।

यस्तै यसैबर्ष भएको संघीय चुनावतर्फ पपुलर मतमा नेकपा एमाले अग्रस्थानमा रहेपनि सिट संख्याका आधारमा ८९ सिट ल्याउँदै नेपाली काँग्रेस ठूलो पार्टी बन्यो । काँग्रेसभन्दा जम्मा ११ सिट कम ल्याएर दोस्रो पार्टी भएपनि प्रधानमन्त्रीको चिठ्ठा भने तेस्रो दल माओवादी केन्द्रलाई पर्यो । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ महिनामै गठबन्धनको क्याम्प परिवर्तन गरी काँग्रेसँग पिरती गासेपछि यो बर्ष राजनीति थप रहस्यमयी बन्यो । चुनावताका धेरैले कम आँकेको राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कारिक मत ल्याइदियो । स्थापनाको ६ महिनामै रास्वपाले चौथो ठूलो दलको हैसियत बनायो । यस्तै तराईका पुराना दललाई धक्का दिँदै सिके राउतको जनमत पार्टीले दरिलो उपस्थिति देखायो । उता पश्चिम तराईबाट ४ सिट जितेर जेलमा रहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले पनि सत्ताको सौदाबाजी गर्ने हैसियत बनायो ।

यति मात्रै होइन यो बर्ष राजावादी पार्टीप्रति पनि नेपाली जनताको आकर्षण बढ्यो । राप्रपा पार्टीले संसदमा १४ सिट प्राप्त गरेपछि हौसिएका पूर्व राजा ज्ञानेन्द्र शाह मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा समेत अतिथि वक्ताको रुपमा उपस्थित भएर राजनीतिमा आउने छनक दिए ।

काण्डै काण्ड
अघिल्ला बर्षझैँ यो पनि काण्डैकाण्डको बर्ष बन्यो । विशेषगरी यो बर्ष रवि लामिछाने काण्ड, पल शाह काण्ड, सन्दीप लामिछाने, सांसद ढाकाकुमार श्रेष्ठ काण्ड, मनोज पाण्डे काण्ड चर्चामा रहे । पत्रकारिताबाट उदाएका रवि लामिछानेले नेपाली राजनीतिमा छोटो समयमै चमत्कार गरे । पत्रकारिता छोडेको ६ महिनामै उनी गृहमन्त्रीमा आसिन भए । तर नागरिकताको मुद्दामा सर्वोच्चले ह्यामर बजाएपछि रवि फेरि उपचुनावको लागि भिडिरहेका छन् । रविको नागरिकता काण्ड सेलाएपनि राहदानीको मुद्दाले उनलाई पिरोलीरहेको छ । विकनी किलर चाल्र्स शोभराज यसैबर्ष छुटे । चलचित्र र मोडलिङमा राज गरिरहेका पल शाह एक नावालिक गायिका बलात्कार काण्डमा मुछिएपछि उनको छवि धुमिल भयो । उनले जेल जीवन सुरु गर्दै गर्दा अन्तराष्ट्रिय स्तरमै ख्याती कमाउन शुरू गरेका चर्चित क्रिकेटर सन्दीप लामिछाने पनि नावालिक माथि बलात्कार आरोपमा हिरासत जानुपर्यो । यस्तै सौन्दर्य प्रतियोगिताका नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी संचालक मनोज पाण्डे ७ बर्षका लागि जेल गए ।

अर्थव्यवस्था
विश्व अर्थतन्त्र डामाडोल हुने अवस्थाका बीच नेपालको अर्थतन्त्र थप धरासायी भयो । अमेरिकाका सिलिकन भ्याली बैँक र सिग्नेचर बैँक टाट पल्टिएसँगै स्तब्ध भएको विश्व अर्थतन्त्रको बाछिटा नेपालसम्म आउँदै छ । श्रीलंका समेत टाट पल्टिएको अवस्थाका बीच नेपालमा दशकौँपछि सबैभन्दा कम राजश्व उठेको छ । यसले संकेत राम्रो देखाइरहेको छैन । चालु खर्चकै लागि सरकार असिनपसिन भएको छ । वैदेशिक मुद्रा संचिति पछिल्ला महिना केही बढेपनि यसको दिगोपनाबारे प्रश्न उठिरहेका छन् । राष्ट्रिय अर्थतन्त्र धरासायी भइरहेको अवस्थामा साना व्यापारीहरु, लघुवित्त पीडितहरु, मिटरव्याज पीडितहरुले गरेको आन्दोलनले नेपालको अर्थतन्त्रसामु कालो दाग लगाइरहेको थियो । त्यसमाथी मुलुकको अर्थव्यवस्थाका कारण काम गरेर खाने वातावरण नभएको भन्दै इलामका प्रेमप्रसाद आचार्यले संसद भवन बाहिर आत्मदाह गरेपछि झन् खस्कदो अर्थतन्त्रको मुकुट उदांगो भयो ।अर्थव्यवस्थाका हिसाबले यो बर्ष विर्सन लायक बन्यो ।

कहाली लाग्दा दुर्घटना
कहालीलाग्दा दुर्घटनाहरुले पनि नेपालका लागि बर्ष २०७९ पीडादायिक बर्ष बन्यो । बर्षको सुरुवातमै मुस्ताङमा तारा एअरको विमान खस्यो र २२ जनाको निधन भयो । विमानहरुमा समस्या हुँदा आकस्मिक अवतरण, एकातिर गन्तव्य तर अर्कैतिर अवतरण, हेलिकोप्टर दुर्घटना मात्रै होइन सडक दुर्घटनाका घटना पनि धेरै भए । सल्यान, सिन्धुली, रामेछाप लगायतका जिल्लामा भयानक दुर्घटना हुँदा दर्जनौँ व्यक्तिहरुको हताहती भयो । यो भन्दा अझ कहालीलाग्दो घटना माघेसंक्रान्ति मनाइरहँदा पोखरामा भयो । यति एअरलाइन्सको विमान विमानस्थल टेक्नुभन्दा १५ सेकेन्ड अगाडि दुर्घटनाग्रस्त हुँदा ७२ जनाको निधन भयो । चैत्रको अन्तिम साता मात्रै देशभर १५ जनाभन्दा बढीले सडक दुर्घटनामा परी ज्यान गुमाए । उता सगरमाथा आरोहण गर्न जाने क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाहरुले पनि ज्यान गुमाए । यसरी हेर्दा अघिल्ला बर्षभन्दा धेरै व्यक्तिहरुले दुर्घटनाका कारण ज्यान गुमाएको बर्ष बन्यो २०७९ । दुर्घटनाका अलाबा युगपुरुष सत्यमोहन जोशी र कहिल्यै विवादमा नमुछिएका काँग्रेस नेता प्रदिप गिरिको निधन पनि यसैबर्ष भयो जसले देशलाई अपुरणीय क्षति भयो ।
खेलकुद
खेलकुदका संघसंस्थामा हुने चरम व्यथिति, तमाम समस्या, भौतिक पूर्वाधारको कमी, खेलाडीहरुलाई हुने प्रोत्साहनको अभावका बीच नेपाली खेलकुदले विश्वमञ्चमा दरिलो उपस्थिति देखाइरहेको छ । खेलकुदका दृष्टिले यो बर्ष दुईवटा महत्वपूर्ण उपलब्धी भए । वास्तवमै भन्दा क्रिकेटमा नेपालले छलाङ नै मार्यो । सन् २०२४ मा श्रीलंकामा हुने अन्डर १९ विश्वकप क्रिकेटका लागि नेपाली टिम छानिएको केहि दिन नबित्दै राष्ट्रिय क्रिकेट टिम पनि विश्वकप क्वालिफायर खेल्न पाउने गरी भएको उपलब्धी चानुचुने विषय होइन । नेपालले अब विश्वकप खेलिसकेका र टेष्ट राष्ट्रसमेत मान्यता पाइसकेका श्रीलंका, दक्षिण अफ्रिकासँग खेल्ने मौका पाउनु गर्वको विषय हो । यस्तै पब्जी मोबाइल गेममा समेत नेपालले अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्यो जसले नयाँ पीँढिलाई प्रोत्साहित गरेको छ ।

साहित्य
यस बर्षको मदन पुरस्कार साहित्यकार नवराज लम्सालको अग्नी महाकाव्यले पायो । कविता साहित्यको समेत सम्मान गरेको यसबर्षको मदन पुरस्कारमाथि कसैले औँला उठाएन । यो पनि ठूलो उपलब्धी हो । यसबर्ष बसन्त बस्नेतको महाभरा, दिवा मेवाहाङ राईको यादको सन्तुक, बुद्धिसागरको एक्लो, नेपाल चिनाउने आँखीझ्याल बनेको भरतबन्धु थापाको नेपाल इन इमेजेज पुस्तकहरु सर्वाधिक पढिए ।

मनोरञ्जन
नेपाली सिने जगत र गीतसंगीतका लागि पनि यो बर्ष सुखद रह्यो । विदेशी चलचित्रहरु हावी भइरहेको पछिल्लो समयमा बनेका केहि चलचित्रहरुले नेपाली दर्शकलाई हलसम्मै तान्यो । कबड्डी ४, छक्कापञ्जा ४, प्रेम गीत ३, महापुरुष लगायतका चलचित्रले बक्सअफिसमा ठूलै धनरासी जम्मा गरे भने दर्शकलाई पनि भरपुर मनोरञ्जन दिए ।

कोरोनाका कारण हालकायल भएको नेपाली गीत संगीत यो बर्ष भर्भरायो । यस बर्ष संगीतमा लोक फ्युजन भएका गीतहरु निकै चले । पुस महिनाको जाडोमा गायक तिलकसिंह पेलाको के लत बस्यो गजलले बजार ततायो । उता स्टेज कार्यक्रमहरुमा धोकेबाज हौ तिमी, दर्शन सलाम लगायतका गीतले धमाकेदार प्रस्तुति दिए । हुन त एमालेसँगको गठबन्धन टुटाएर नेपाली काँग्रेससँग गठबन्धन बनाएपछि राजनीतिमा पनि धोकेबाजको चर्चा व्यापक भयो । जसले गर्दा यो गीत झनै चर्चामा पुग्यो ।

समग्रमा भन्दा यो बर्ष औसत रह्यो । अन्तर्राष्ट्रिय हवाई उड्डयनमा स्तर खस्काएको नेपालले यो बर्ष केहि अन्तर्राष्ट्रिय अवार्डहरु देश भित्र्याउन सफल भयो । आँखाको ज्योति गुमाएकाहरुका लागि भगवान साबित भइरहेका नेपाली डाक्टर सन्दुक रुइतले प्राप्त गरेको अन्तर्राष्ट्रिय इसा अवार्ड पुरस्कारले नेपालीको शीर ठाडो पार्यो ।

दुःखद घटना, परिघटनाहरू न्युन हुँदै जाऊन् । प्रगति र  उत्साह थपिदै जाऊन् । स्वागत छ नवबर्ष २०८० लाई ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?