साझा कथा । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै छ । आज (आइतबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले अन्तिम सुनुवाइ गर्ने सम्भावना छ ।
मुद्दाको सुनुवाइ सर्दै जाँदा आज पनि पेसी तोकिएको छ । यसअघि एकपटक सन्दीपका कानुन व्यवसायीले स्थगित गराएका थिए भने अर्को पेसी पालो नआएपछि स्थगित भएको थियो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
नाबालिक बलात्कारको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दायर हुँदा पुर्पक्षका लागि थुनामा गएका लामिछाने उच्च अदालत पाटनको आदेशबाट २० लाख धरौटीमा रिहा भएका थिए ।
उनी बलात्कार मुद्दामा दोषी ठहर हुने वा सफाइ पाउने भन्ने कुराको फैसला काठमाडौं जिल्ला अदालतले गर्नेछ । यसअघि सबै पक्षको विश्लेषण गर्दा र पक्ष विपक्षमा बहस सुनेको उच्च अदालत पाटनले थुनामा राखिराख्न जरुरी नदेखिएको भन्दै रिहा गरेको थियो । लामिछानेविरुद्ध मुद्दा दायर गर्ने युवतिसँगको कल डिटेल र मेसेज डिटेलको समेत विश्लेषण यसअघि भइसकेकोले काठमाडौं अदालतले लामिछानेलाई सफाइ दिने सम्भावना छ ।