गिद्ध संरक्षण गर्न बनेको रेष्टुरेन्ट अध्ययन केन्द्र बन्दै

साझा कथा । लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, जीवनशैली तथा गिद्धको बासस्थानका विषयमा अध्ययन गर्न आउने गरेका जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविज्ञ डिबी चौधरीले जानकारी दिए । उनले रेष्टुरेन्टमा राखिएका गिद्धहरूलाई खाना दिइने गरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेहरूका लागि खुला गरिने गरिएको जानकारी दिए । त्यहाँ एकपटकको अवलोकनमा १५ देखि ३० जनासम्म आउने गरेका छन् ।

“औसतमा भन्दा १५ देखि २० जनाको हाराहारीमा पर्यटक तथा अध्ययनकर्ता आउनुहुन्छ, त्यसबाहेक कहिलेकाहीँ अलि धेरैको समूहमा समेत आउने गर्नुभएको छ”, उनले भने । खाना दिने दिन धेरैको सङ्ख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने तयारी गरिएको व्यवस्थापक चौधरीको भनाई छ ।

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको हो । चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको हो । गिद्ध संरक्षणका लागि समुदायस्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?