‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा एक/दुई हप्तामै निर्णय हुन्छ’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक–दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन् । विहिबार विहान भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले एक–दुई हप्तामा निर्णय हुने बताए । उनले अलपत्र परेको क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै सुरू गर्ने बताए ।

‘क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक हप्ता या दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भरतपुरमा बनिरहेको रंगशाला आर्थिक अभावका कारण अलपत्र बनेको छ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को नेतृत्वमा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको रंगशालाको काम २०७८ सालको साउन देखि रोकिएको छ । करिब १८ करोड रुपैयाँ उधारो तिर्न नसकेपछि कट्टेलले भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीको शपथ विहिबार नै गराउने तयारीमा आफू रहेको जानकारी दिए । ‘आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने मेरो तयारी छ । आज सकिएन भने भोलि बिहान होला,’ उनले भने, ‘काम त हाम्रो सकिएको छ । एक-दुईवटा मन्त्रालय टुंग्याउन थोरै बाँकी छ । बाँकी टुंगिएको छ ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?