एउटा सडक शिलान्यास गर्न ३ जना भीआईपी

साझा कथा । सरकारले गर्नुपर्ने महत्वपूर्ण कामहरुको चाङ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पूर्ण बनिसकेको छैन । जनताको दैनिक जीवन सहज बनाउन गर्नुपर्ने कामको फेहरिस्त लामै छ ।

मुलुकको अर्थतन्त्र सुधारका लागि, विकास आयोजनाहरुको तिव्रता दिनका लागि वा नयाँ योजना बनाउनका लागि अर्थमन्त्री समेत रहेका मुलुकको प्रधानमन्त्री र भौतिक योजना मन्त्री सामान्य शिलान्यासमा रमाउन थालेपछि सरकारका काम प्रभावित त भइहाल्छ नै । सामान्य कार्यक्रममा बक्ताको रुपमा सहभागी हुने, सामान्य विकासका काम शिलान्यास गर्न जाने वा उदघाटन गर्न जाने काम गर्दा भीआइपीहरुको गुरुत्व समेत घट्छ । उदघाटन र शिलान्यासका काममा भीआईपीहरु रमाउने प्रचलन नेपालमा नयाँ होइन । तर कुनै सामान्य कामको जस लिनका लागि भीआइपीहरुको दौडधुप हुनु चाँहि दुःखद हो ।

गोरखामा यस्तै भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एउटा सडक शिलन्यास गर्न गोरखा पुगे र गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक शिलन्यास गरे । हुन त यी तीन जना नेता गोरखासँग जोडिएका व्यक्तिहरु हुन् । डा. भट्टराई र श्रेष्ठ गोरखाकै हुन् भने प्रचण्ड गोरखाका प्रतिनिधी हुन् ।

सडक शिलन्यास गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिले अब लय पक्रिएको बताए । एमालेसँगको सहकार्यले मुलुकले गति नलिने निश्कर्षसहित नयाँ गठबन्धन बनाएका प्रचण्डले ‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको र राजनीतिले बल्ल लय पक्रिएको जिकिर गरे ।

सङ्घ सरकारदेखि प्रदेश सरकार पुनर्गठन र आलोपालोका विषयमा दलहरुसँग छलफल सुरु भएको उनले जानकारी गराए । सडक विकासको पहिलो आधारशिला भएको भन्दै उनले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको बताए । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिबद्ध भएको दाबी गरे । ‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उनले भने, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’

यसैगरी, पूर्व उपप्रधानमन्त्री डा. भट्टराईले उक्त सडकले यो क्षेत्रको विकासमा सम्भावना खोल्ने बताए । गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने उनको भनाई थियो । ‘मेरा लागि सबैभन्दा खुसीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतिको कार्य सुरु गरेको थिएँ,’ उनले भने ‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’

सडकका लागि ८१ करोड ६१ लाख बजेट विनियोजन गरिएको छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहिलटारसम्म सडक कालोपत्रे हुने बताइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?