प्रचण्डले दोहोर्याएर पाए विश्वासको मत, १७२ सांसदको समर्थन

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत प्राप्त गरेका छन् । अघिल्लो पटक एमालेसहितको गठबन्धन हुँदा लगभग शतप्रतिशत मत प्राप्त गरेका प्रचण्डले काँग्रेससहितको गठबन्धन निर्माण हुँदा १७२ सांसदको समर्थन प्राप्त गरेका छन् । सोमबारको संसद बैठकमा २६२ सांसद उपस्थित भएकोमा प्रचण्डलाई बहुमत सदस्यले पक्षमा मत दिएका हुन् । ८९ सांसदले विपक्षमा मत दिए ।

उनलाई नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायत ११ दलको समर्थन छ ।

सोमबार संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए । यसअघि उनले पुस २६ मा पनि विश्वासको मत पाएका थिए । सत्तासाझेदार नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै उनले दोहोर्याएर विश्वासको मत लिनु परेको हो ।

विश्वासको मत लिँदै प्रचण्डले एमालेसहितको गठबन्धन तोड्नुका कारण र नयाँ गठबन्धन बनाउनुपर्ने कारणबारे व्याख्या गरेका थिए । पुस २६ गते नै विश्वासको मत लिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिले शंका उब्जाएको बताउँदै उनले सोही दिन नै आफूलाई सो गठबन्धन अगाडि नबढ्ने लागेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो बैठकमै ओलीले संसद विघटनको बचाउ गरेपछि आफ्नो लभ काँग्रेससँग परेको बताए । अहिले बनेको गठबन्धन प्राकृतिक भएकाले यो दीगो हुने उनको तर्क छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?