साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रचण्डलाई विश्वासको मतः रास्वपा

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरू सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्दा रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाललाई फेरी पनि विश्वासको मत दिएको बताए ।

आफ्नो दललाई आपत् परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिँदै उपसभापति अर्यालले भने ‘‘ हामीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा समर्थन गरी सरकारमा सहभागी हुँदादेखि सरकारबाट बाहिरिएर अहिले उक्त समर्थनलाई निरन्तरता प्रदान गर्दासम्म कसैसँग गठबन्धन गरेका छैनौँ । हामी यस अघि सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने पहिलो दल हौँ । हाम्रै विशेष पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्यौँ । सरकारले विशेष पहलमा न्यूनतम साझा कार्यक्रम तय गर्‍यो । जसमा हाम्रा बाचा पत्र कयौँ कुराहरू समावेश छन्। ती बुँदाहरू हाम्रा होइनन् । आम नागरिकका हुन् । आम नागरिकका ती मुद्धाहरु सम्बोधनमा सरकारले निरन्तरता दिने विश्वास नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको प्रमुख आधार हो । हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौँ ।’’

सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरूले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पारे । उनले भने, ‘‘सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।’’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?