प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, १८० मत सुरक्षित

साझा कथा । पुस २६ गते विश्वासको मत लिँदा झण्डै शतप्रतिशत मत प्राप्त गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज फेरि विश्वासको मत लिँदै छन् । सत्ता साझेदार नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदा समर्थन समेत फिर्ता लिएको हुनाले प्रचण्डले दोहोर्याएर विश्वासको मत लिनुपरेको हो ।

गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते पनि विश्वासको मत लिएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन् । केही स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रचण्डलाई स्पष्ट बहुमत प्राप्त हुनेछ । यसो हुँदा उनलाई १८० भन्दा बढी मत प्राप्त हुनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?