५ बर्षमा ३ जना प्रधानमन्त्री बन्ने सहमति, प्रचण्डपछि को ?

साझा कथा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिलेको सत्ता गठबन्धन दलका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । सहमतिमा प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र त्यसपछि मात्रै कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने विषय उल्लेख रहेको निधिले बताएका छन् ।

यधपी कुन नेताले कति समयका लागि प्रधानमन्त्री चलाउने भन्ने बारेमा भने उनले केही खुलाएनन । कांग्रेस ललितपुर नगर समितिले विहिबार बिहान आयोजना गरेको कार्यक्रममा निधिले त्यस्तो बताएका हुन् । ‘पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ,’ निधिले भने ।

उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने र त्यसरी विश्वासको मत लिईसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने बताए । ‘उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि कांग्रेस सरकारमा जान्छ,’ निधिले भने, ‘गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ ।’

नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो । गत पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित ८ दलको गठबन्धन बनेको थियो । दलहरुका बीचमा भएको सहमति अक्षरस पार्टीहरुले पालना गर्ने र त्यही सहमतिका आधारमा सरकारको नेतृत्वमा दायाँवाँया अहिले नहुने पनि निधिले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?