मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुनछ। जसले मानिसलाई स्वस्थ राख्छ । शारीरिक कसरत भनेको उर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो । जुन शरीरका अंगहरुको हलचलका कारण उत्पन्न हुन्छ। शारीरिक निष्क्रियता विश्वमा मानिसहरु बिरामीको हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ ।
तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ । जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको छ ।
विभिन्न किसिमका विज्ञान प्रविधि, यातायात र जीवनशैलीले मानिसहरु दिन प्रतिदिन झन्–झन् निस्क्रिय हुन थालेका छन् । फलस्वरुप उच्च रक्तचाप, हृदयघात, मधुमेश, जीर्ण श्वासप्रश्वास दम, मुटुरोग र मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका स्वास्थ्य समस्याहरु बढ्दैछन् ।
शारीरिक निस्क्रियताको कारण हुने सक्ने समस्याहरु
- उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या
- हड्डी तथा माशंपेशीहरुमा कमजोरी
- क्यान्सर, मधुमेह जस्त नसर्ने रोगहरु देखा पर्न सक्ने
- मोटोपना र यसको जोखिम बढ्न सक्ने
- तनाव र छटपटाहटको महसुस
शारीरिक रुपमा कसरी सक्रिय रहन सकिन्छ ?
– ४५ मिनेटसम्म भलिबल खेल्ने
– ४५ देखि ६० मिनेटसम्म फुटबल खेल्ने
– ३० देखि ४५ मिनेटसम्म बगैँचामा काम गर्ने
– दैनिक २ माइल ३० मिनेटसम्म हिड्ने
– ३० मिनेटसम्म बास्केटबल खेल्ने
– ३० मिनेटसम्म ५ माइल साइकल चलाउने
– ३० मिनेटसम्म पौडी खेल्ने आदि।
माथि उल्लेख गरिएका मध्ये कुनै पनि एक क्रियाकलापद्धारा आफुलाई सक्रिय राख्न सकिन्छ ।
शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
– शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ। रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ ।
– सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन। अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ ।
– कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ ।
– कडा कसरत गरीसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ ।
– दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने ।
– गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।
शारीरिक कसरतबाट हुने फाइदाहरु
– मुटु सम्बन्धी समस्या हुनबाट बचाउँछ
– फोक्सोको क्षमतामा वृद्धि गर्दछ
– मधुमेशको रोगलाई नियन्त्रण गर्दछ
– तौल ठिक राख्न मद्दत गर्दछ
– शारीरिक दुखाई नियन्त्रण गर्दछ
– हड्डीलाई बलियो र मजबुत बनाउँछ
– तनावबाट मुक्त राखी मानसिक आनन्द दिन्छ
– काम गर्ने क्षमतामा वृद्धि गर्दछ
– वृद्धावस्थामा पनि सक्रिय र आत्मनिर्भर बनाउँछ
शारीरिक कसरत जुनै किसिमको भएपनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ । सामान्य किसिमको शारीरिक व्यायाम भन्नाले छिटो छिटो हिड्ने, नाच्ने वा घरायसी कामकाज गर्नु आदि हो । कडा किसिमको शारीरिक व्यायाम भन्नाले दौड्नु, तीव्र गतिमा साइकल चलाउनु, पौडी खेल्नु र गह्रौँ सामान उठाउनु जस्ता कडा कार्यलाई बुझाउँछ ।