तेस्रो विश्व युद्धको तयारी ? (भिडियो)

Featured Video Play Icon

युद्ध नभएको कहिले छ र ? युद्ध नभएको कहाँ छ र ? युद्धको सामान्य नियम के हो भने, यो सुरु हुन्छ र अन्त्य पनि हुन्छ । तर रुस र युक्रेनको युद्ध १ बर्ष कटिसकेको छ, अन्त्यको नामोनिशान छैन । झण्डै ४० हजार व्यक्तिहरु यस युद्धका शिकार भएका छन् । सामरिक शक्तिका हिसाबले अमेरिकाको हाराहारीमा रहेको रुसले सानो र शक्तिहीन राष्ट्र युक्रेनसँग यति लामो समय युद्ध गर्नुपर्ने थियो र ? किन युद्ध गरिरहेका छन् रुस र युक्रेन ?

रुस र युक्रेनबीचको युद्ध छोटो समयमै समाप्त हुने अनुमान थियो, रुसले जित्ने निश्चित जस्तै थियो । तर रुस केही पछि हटनु परेको र युक्रेनले प्रतिरोध गरिरहेको घटनाक्रमले देखाउँछ, यो युद्ध यत्तिमै रोकिनेवाला छैन । कतै यसले तेस्रो विश्वयुद्धको पृष्ठभूमि तयार पारिरहेको त छैन ? फ्रान्सका चर्चित भविष्यवाणीकर्ता नास्त्रेदमसले १६ औँ शताब्दीमा घोषणा गरेका थिए, सन् २०२३ मा तेस्रो विश्वयुद्ध हुनेछ । आफ्ना ९ सय ४२ वटा भविष्यवाणी गर्दा नास्त्रेदमसले भनेका थिए, तेस्रो विश्वयुद्ध ७ महिनासम्म चल्नेछ । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, जापानमाथि अमेरिकाको अणु बम, फ्रान्सको क्रान्ति र नेपोलियन बोनापार्टको उदय, चन्द्रमामा पुग्ने कुरा, कोभिड १९ का कुरा त्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्र लगायतका भविष्यवाणी गरेका नास्त्रेदमसको ७० प्रतिशत कुरा मिल्न गएको इतिहास भेटिन्छ । के उनले भविष्यवाणी गरेझँै तेस्रो विश्वयुद्धको समय आएको हो त ? हुन पनि सक्छ, नत्र रुसजस्तो शक्तिशाली राष्ट्रलाई युक्रेन कब्जा गर्न यत्रो समय लाग्छ र ? जे भएपनि युक्रेनमाथिको रुसी आक्रमण उसका लागि घाँटीमा अड्किएको हड्डी भएको छ भने दुनियाँका लागि तेस्रो विश्वयुद्धको प्रस्थानबिन्दु ।

युक्रेनसँग रुसको झगडा भर्खर सुरु भएको होइन । यो विवादको निहुँ ९ वर्ष अघिदेखि सुरु भएको थियो । सन् २०१४ मा रुसतिर झुकाव राख्ने युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिजविरुद्ध देशभित्रैका पश्चिमाका समर्थकहरुले विद्रोह गरे । त्यहि विद्रोहको फाइदा उठाउँदै रुसले आफ्नो सीमामा रहेको युक्रेनी भूभाग क्रिमिया कब्जा गर्यो । त्यसपछि अधिकांश युक्रेनी जनता रुसका विरुद्ध गए । त्यहि भावनामा टेकेर वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उदाए । यो बहाना त छदैँ छ, युक्रेन युरोपेली संघमा आवद्ध भएको कुरा पनि रुसलाई पचिरहेको थिएन । त्यसमाथि युक्रेनका हालका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी गठबन्धन उत्तर एटलान्टिक शैन्य संगठन (नेटो)को सदस्यता लिन खोजे । यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई असह्य बनायो । यी दुई संगठन रुसका अघोषित सत्रु हुन् । कारण यति मात्रै नहुन सक्छ । रुस र जर्मनीबीच पेट्रोलियम आपूर्तिका लागि धेरै पाइपलाइन छन् । र ती अधिकाँश पाइपलाइन युक्रेन भएर जान्छन् । युक्रेनले निहुँ खोज्दा जर्मनी लगायत युरोपका धेरै राष्ट्रसँगको रुसको व्यापार सम्बन्धमा खलबल आउनसक्ने अवस्था छ, आज मात्रै होइन, भविष्यमा पनि । रुस त्यो अवस्था नआओस् भन्ने सुनिश्चितता चाहन्छ । रुस र युक्रेनबीच युद्ध हुनुपर्ने कारण यिनै हुन् ।

कारण जे भएपनि समग्र विश्वको लागि यो युद्ध सुखद संकेत भने हैन । एउटा गोलीसमेत नचलाई क्रिमिया कब्जा गरेजस्तै युक्रेनमाथि हमला गरेर पाँच दिनभित्रै पुरै युक्रेन कब्जामा लिन सक्ने आँकलन रुसको थियो । तर त्यो आँकलन गलत साबित भयो । किन त ? किन की युक्रेनलाई अप्रत्यक्ष रुपमा अमेरिका र युरोपेली संघले सघाइरहेका छन्, बन्दोबस्तीका सामान र हतियार दिएर । अर्थात यो युद्धमा अमेरिका र युरोपेली संघ अप्रत्यक्ष संलग्न छन् ।

तपाई थाहा नहुन सक्छ, यो युद्धमा रुसले दैनिक ३० अर्ब खर्च गरिरहेको छ । उता युक्रेनलगायत युरोपेली देशहरूलाई रुसको डर देखाएर अमेरिकाले आफ्नो हतियार विकाउन सफल भइरहेको छ । यो युद्ध लम्बिँदा रुस आर्थिक हिसाबले कमजोर हुँदै जान्छ र अमेरिका झन् बलियो । यही युद्धको परिणाम रुस नजिकका स्वीडेन र फिनल्यान्डले समेत नेटोको सदस्यता लिँदै छन्, जुन अमेरिकाको लागि खुशीको कुरा हो । विश्वको ध्यान युक्रेन रुस युद्धमा गइरहँदा युद्धकै बाछिटा स्वरुप चीनले ताइवान कब्जा लिने रणनीति बनाएको छ । ताइवान जापानसँग घनिष्ठ सम्बन्ध भएको मुलुक हो । ताइवानमाथि चीनको आक्रमण भए जापानले जवाफ दिनसक्छ । एउटा सम्झौता अनुसार जापान र दक्षिण कोरियाको सुरक्षाको जिम्मा अमेरिकाले लिएको छ ।

फलस्वरुपः ताइवान युद्धमा अमेरिका संलग्न हुनैपर्छ । अमेरिका संलग्न भए नेटोआवद्ध सबै राष्ट्रहरु संलग्न हुनेछन् । यता रुसका पक्षमा उत्तर कोरिया प्रष्ट छ, चीनले समेत रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको छैन, भारतले पनि विरोध गरेको छैन । विरोध गरोस् किन, रुसको नजिर देखाएर कुनै दिन काश्मिरलाई आफ्नो अधीनमा ल्याउनु छ । इरान त अमेरिकाको पुरानै दुस्मन भइहाल्यो । अमेरिका विरुद्ध उत्रन ब्राजिल, क्युबा, दक्षिण अफ्रिकाले पनि बहाना खोजिरहेका छन् । यस कारण यहि युद्धको विस्तार भएर विश्व दुई ध्रुवमा विभाजित हुने र तेस्रो विश्वयुद्ध सुरु नहोला भन्न सकिन्न ।

भौतिकशास्त्रका पिता अल्बर्ट आइन्स्टाइनले भनेका थिए, तेस्रो विश्वयुद्ध हतियारले लडिएला म भन्न सक्तिनँ । तर, चौथो विश्वयुद्धचाहिँ लठ्ठी र ढुङ्गाले लडिन्छ, यसमा म पक्का छु । यो भनाइबाटै थाहा हुन्छ – यदि तेस्रो विश्वयुद्ध भयो भने कुन हदसम्म जानेछ । आइन्स्टाइनको भनाइअनुसार कैयौँ वर्षपछि हुने चौथो युद्धका लागि हामीसँग ढुङ्गा र लट्ठी मात्रै बाँकी रहनेछन्, अरु सबै ध्वस्त हुनेछ ।
के सेनामा हुँदा एउटा नाटकीय र प्रायोजित विद्रोही विरुद्धको अपरेसनमा सफलता हासिल गरी राष्ट्रवादी कहलिएका र हाई–हाई कमाउँदै सन् २०३६ सम्म रुसी राष्ट्रपतिमा निरन्तरता पाउन लागेका पुटिनले यो युद्ध रोक्लान् ? अब सायद उनले चाहेर मात्रै नियन्त्रण हुनेछैन यो युद्ध ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?