लिग-२ को अन्तिम सिरिजमा नेपालको पहिलो जीत, पीएनजी ५२ रनले पराजित

साझा कथा । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम सिरिजको पहिलो खेलमा विशाल स्कोर बनाएको नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ । बिहीबारदेखि नेपालको त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले २९८ रनको लक्ष्य दिएको थियो । पिएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन मात्र बनाउन सक्यो ।

उसका लागि टोनी उरा र नोमर्न भानुआले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ४४ बलको सामना गरेका उराले ९ चौकासहित ५० रन बनाए । त्यस्तै, भानुआले ५५ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६० रनको पारी खेले ।

त्यस्तै, कप्तान असद भालाले ४२, किप्लिन डोरिगाले २६, रिली हेकुरेले २० र अमिनीले १४ रन जोडे । बलिङमा सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३७ रन दिएर ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ र कुशल मल्लले एक विकेट हात पारे । नेपालले तीन विकेट रनआउटको रूपमा प्राप्त भयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९७ रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेले । ११० बलको सामना गरेका उनले १२ चौका र दुई छक्कासहित ११० रन बनाए ।

एकदिवसीयमा आसिफको यो पहिलो शतक हो । उनले १०१ बलमा दुई छक्का र १० चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ५६ बलमा ६ चौकाको सहयोगमा ४५ रन बनाए । उनी र आसिफबीच पहिलो विकेटका लागि ११० रनको साझेदारी बन्यो ।

त्यस्तै, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ र ज्ञानेन्द्र मल्लले ११ रन जोडे । लिग–२ तालिकाको पाँचौं स्थानमा रहेको नेपालले अहिलेसम्म ३३ म्याचमा १६ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँड्दै ३४ अंक जोडेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?