साझा कथा । आईसीसी विश्वकप लिग २ अन्तर्गत भइरहेको तेस्रो सिरिजमा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभर खेल्दै २९७ रन बनाएको हो । एकदिवसीय खेलमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
नेपालको लागि आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए भने शेखले ११० रन जोडे । एकदिवसीयमा आसिफको यो पहिलो शतक हो । उनले १०१ बलमा दुई छक्का र १० चौका प्रहार गर्दै शतक पूरा गरेका थिए ।
यस्तै भीम सार्कीले व्यक्तिगत ४४ रन जोड्दा कप्तान रोहित पौडेलले २९ बल खेल्दै ३० रन जोडेका थिए । अन्य खेलाडीहरु सस्तैमा समेटिए ।
नेपाल अहिले ३२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ३२ खेल खेलेको नेपालले १५ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३६ म्याचबाट ३९ अंक जोडेको छ । पुछारमा रहेको पिएनजीले ९ अंक मात्र जोड्न सकेको छ । उसले ३२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ ।
छैटौँ स्थानमा रहेको यूएईले ३२ म्याच खेल्दा १४ मा जित, १५ मा हार तथा तीन खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड र ओमानले भने शीर्ष दुईभित्र स्थान बनाउँदै सिधै विश्वकप छनोटको यात्रा तय गरिसकेका छन् ।