बेलायतमा चरम आर्थिक संकट – एकजनाले पाउँछन् दुईवटा टमाटर

साझा कथा । कुनै समय विश्वभर आफ्नो साम्राज्य विस्तार गरेको युरोपेली राष्ट्र बेलायतमा यतिबेला आर्थिक मन्दीको सन्त्रास छ । कुनै समय विदेशीहरुको लागि आकर्षक गन्तव्य मानिएको बेलायत यतिबेला बस्नका लागि योग्य नभएको ठाउँ भनेर चित्रण गरिएको छ । बेलायतका नागरिकहरु बाँच्नको लागि संकटको सामना गरिरहेका छन् ।

बेलायतमा अहिले व्यापक चिसो छ । चिसोको कारण आन्तरिक उत्पादनमा ह्रास आइरहेको छ भने बाहिरबाट आयात हुने खाद्यान्त र कृषि उपज पनि चाहिएजति आएको छैन । त्यसैले त्यहाँ अहिले खाद्यान्न संकट पनि देखिएको छ। यस्तो अवस्थामा बेलायतका केहि स्थानमा फलफूल र तरकारीमा कोटा प्रणाली लागू गरिएको छ ।

पूर्वी लन्डन, लिभरपुल र बेलायतका अन्य भागहरुमा तरकारीको तीव्र अभाव छ । कोटा प्रणालीअन्तर्गत गोलभेडा, आलु, काँक्रो, खुर्सानी, ब्रोकाउलीजस्ता वस्तु चाहिएजति खरिद गर्न पाइँदैन । कतिसम्म भने एकजना ग्राहकले २ वटा टमाटर मात्रै खरिद गर्न पाउँछन् ।

टेलिग्राफ युकेको रिपोर्ट अनुसार बुधबारदेखि मोरिसन्सले पनि ग्राहकलाई अधिकतम दुईवटा गोलभेडा, काँक्रो र खुर्सानी किन्न अनुमति दिने निर्णय गरेको छ । अन्य सुपरमार्केटले यस्तै उपायहरुमाथि विचार गरिरहेका छन् । बेलायतमा आर्थिक संकट गहिरिँदै जाँदा विदेशबाट खरिद गरिने बालीमा उल्लेख्य गिरावट आएको छ । बेलायतले प्रत्येक वर्ष काँक्रो र गोलभेडाजस्ता जाडोमा पाइने बालीहरु लगभग ९० प्रतिशत आयात गर्दछ ।

उता खराब मौसमले दक्षिणी युरोप र उत्तरी अफ्रिकामा धेरै बाली काट्न बाधा पुगेको छ । मोरक्को र स्पेन जाडोयाममा बेलायतको मुख्य आपूर्तिकर्ताहरु हुन् । मोरक्कोबाट फलफूलको उत्पादन मात्रा प्रभावित भएको छ किनकि उत्पादकहरु चिसो तापक्रम, भारी वर्षा र बाढीसँग लडिरहेका छन् । रातको अत्याधिक चिसोले गोलभेडा पाक्ने काममा असर गरेको छ । यसै कारण आपूर्तिमा ठूलो असर परेको हो ।

मोरक्कोले कम उत्पादनलाई ध्यानमा राख्दै गोलभेडा, प्याज र आलुको निर्यातमा आंशिक प्रतिबन्ध लगाएको छ । उता मौसमकै कारण स्पेनबाट हुने आयातमा पनि गिरावट आएको छ । यो बर्ष बेलायतमा फलफूल र तरकारीको अभावको समस्या अझै बढ्ने अनुमान गरिएको छ ।

यस्तै उच्च विद्युत महशुलका कारण हरितगृहमा उत्पादित बस्तुको भाउ बढेको छ । बेलायत र नेदरल्याण्ड्समा महशुल चर्को भएकै कारण यस्ता हरितगृहले उत्पादन नै कम गरेका छन् ।

-एजेन्सीहरुको सहयोगमा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?