महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको भीड – दर्शनार्थी भन्छन्, ‘व्यवस्थापन राम्रो छ’

साझा कथा । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड रहेको छ । आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुग्नुभएका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रुपमा अघि बढिरहेको बताए । अर्की एक दर्शनार्थीले पशपतिनाथको दर्शन गर्न सहज भएको बताइन् । त्यस्तै अर्का दर्शनार्थीका अनुसार चारैतिरको बाटोको व्यवस्था भएपनि व्यवस्थापन असहज नै छ । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै नै राम्रो व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको बताए ।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?