साझा कथा । टर्कीमा भएको दुई शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थिति साढे ३ मिटर पर सरेको छ ।
सोमबार टर्कीमा गएको ७ दशमलव ८ र ७ दशमलव ५ रेक्टर स्केलका दुई शक्तिशाली भूकम्पको झट्काले भौगोलिक अवस्थितिसँगै ठूलो मानवीय तथा भौतिक क्षति पनि पुर्याएको छ । वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १ सय ४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ ।
इटालियन भूकम्पविद डाक्टर कार्लो डोग्लियोनिका अनुसार सिरियाको तुलनामा टर्कीको जमिन ५ दशमलव ६ मिटरसम्म पर सरेको हुनसक्छ । यद्यपि यो प्रारम्भिक तथ्यांक भएको हुनाले आगामी दिनमा प्राप्त गरिने स्याटेलाइट डाटाहरुबाट यसको एकिन जानकारी प्राप्त गर्न सकिनेछ ।
टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्लेटको सीमाक्षेत्रस्थित फल्टलाइनमा पर्दछ । जसका कारण यहाँ भूकम्पीय गतिविधि तिव्र रहेको छ । डरहाम विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डाक्टर बब होल्डस्वर्थका अनुसार भूकम्पको तिव्रता अनुसार अहिले भएको टेक्टोनिक प्लेटको स्थानान्तरण स्वभाविक हो । उनका अनुसार ठूला भूकम्पमा टेक्टोनिक प्लेट स्थानान्तरण हुने र त्यसबाट कुनै ठाउँको जमिनको अवस्थिति सर्ने कुरा अनुमानयोग्य तथा पुष्टि भएको कुरा हो ।
उनका अनुसार ६ दशमलव ५ देखि ६ दशमलव ९ रेक्टर स्केलसम्मको भूकम्पमा १ मिटरसम्म जमिन सर्न सक्दछ । जबकि सबैभन्दा ठूलो भूकम्पमा टेक्टोनिक प्लेट १० देखि १५ मिटरसम्मले पनि सर्न सक्छ । जब दुईवटा एक अर्काको विपरीत दिशामा घुसिरहेका टेक्टोनिक प्लेटहरु जोडिन्छन् र एक्कासी चिप्लिन्छन् तब निकै ठूलो दबाब बाहिर निस्किन्छ, जसका कारण विनाशकारी भूइँचालो जान्छ ।
पृथ्वीको सबैभन्दा माथिल्लो पत्र अर्थात् क्रस्ट र मध्य पत्र अर्थात् म्यान्टलको उपल्लो भागबाट टेक्टोनिक प्लेट बनेको हुन्छ । भुइँचालोपछि एउटा प्लेट अर्को प्लेटको तल वा माथि खप्टिन पुग्दछ । प्रायः ठूला भुइँचालोहरु यस्ता टेक्टोनिक प्लेट जोडिने सिमाक्षेत्र अर्थात् फल्टलाइनमा जाने गर्दछन् ।
सोमबार टर्कीमा गएको ७ दशमलव ८ म्याग्निच्युडको पहिलो भूकम्पको उद्गम जमिनभन्दा १८ किलोमिटर गहिराइमा थियो भने त्यसको ९ घण्टापछि गएको ७ दशमलव ५ म्याग्निच्युडको झट्का १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो ।