दिपक मनाङ्गले बनाउँदै छन् नयाँ फिल्म

गण्डकीका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङ्गे उर्फ राजिव गुरुङले नयाँ फिल्म बनाउँदे छन् । नायक सविन श्रेष्ठसँग मिलेर नयाँ फिल्मको निर्माण गर्ने भएका हुन् । यसै साता उनीहरुबीच पोखरामा लिखित सम्झौता भएको छ । उत्तरगया फिल्मस् र सविन फिल्मस्सँग सहकार्य गरेर गुरुङले बनाउन लागेको फिल्मको नाम चाँडै घोषणा गरिँदैछ ।

अभिनेता सविन श्रेष्ठलाई करिअर सन्तुलित बनाउन एउटा सफल र सशक्त फिल्म चाहिएको छ । विगत २र३ वर्षमा रिलिज भएका उनका विर्सनलायक फिल्महरुले करिअर नै असन्तुलित बनाएको छ । अब उनी आफ्नो पुनः सशक्त उदय हुने गरी नयाँ फिल्मको तयारीमा जुटेका छन् । कुनैमा उनी आफैं निर्माता भएर भिन्न भूमिकामा काम गर्दैछन् भने कुनैमा नायकको रुपमा प्रस्तुत हुँदैछन् । आगामी बैशाखबाट नयाँ फिल्म ‘सिड्नी’को छायांकन सुरु गर्न लागेका उनले मनाङ्गेसँग फिल्म बनाउन लागेका हुन् ।

फिल्ममा आफू निर्माताका साथै मुख्य भूमिकामा पनि रहने सविनले जानकारी दिए । तर, रोमान्टिक हिरोको रुपमा नदेखिने उनले स्पष्ट पारेका छन् । ‘आफ्नो फिल्ममा हिरो भएरै काम गर्नुपर्छ भन्ने मलाई लाग्दैन । अनि, कति एउटै खालको भूमिका गर्ने । अब केही फरक गरुँ भन्ने उद्देश्यले यसपटक भिन्न रोल निभाउँदैछु,’ उनले भने । अहिले स्क्रिप्ट लेखनको काम भइरहेको उनले बताए ।

सविनका अनुसार, फिल्मका लागि निर्देशक पनि चयन भैसकेका छन् । चाँडै फिल्मको घोषणा कार्यक्रममार्फत् निर्देशकदेखि अन्य कलाकारहरुको परिचय गराइने उनको भनाई छ । २०२३ को अन्तिममा सार्वजनिक प्रदर्शनीको लक्ष्य लिइएको फिल्मको छायांकन बैशाखभन्दा अगाडि नै हुन सक्नेछ । फिल्मका लागि मुम्बईबाट नेपाली मुलकी एक अभिनेत्री झिकाउने तयारीमा निर्माण टिम छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?