नेपालमा सूचना प्रविधिः म्याग्नेटो सिस्टमदेखि फाइभजीसम्म

साझा कथा । विसं १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो । नेपाल टेलिकमका अनुसार विसं १९७२ मा विश्वयुद्ध सुरु भएपछि संसारभर नै दूरसञ्चार सेवाको महत्व बढ्दै गयो। यही क्रममा ब्रिटिस सरकारको अनुरोधमा नेपाली सेनाले विश्वयुद्धमा उनीहरुलाई सघाएपछि नेपालमा दूरसञ्चार क्षेत्रमा चासो बढेको थियो।

विसं १९७२ मा काठमाडौंबाट वीरगन्जसम्मका लागि “ओपेन वायर म्याग्नेटो ट्रंक टेलिफोन” थालनी गरेर १९७३ बाट सञ्चालन गरिएको थियो। उक्त योजना सफल पार्न ब्रिटिस विशेषज्ञ मिस्टर बनार्ड पन्डे खटिएको नेपाल टेलिकमको इतिहासमा पाइन्छ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा विसं १९७३ को असारबाट काठमाडौंको टुँडिखेलदेखि वीरगन्जसम्म ७२ माइल ९११५ किमी० काठको खम्बामा तामाको नांगो तार तानी टेलिफोन सेवा सुरु गरिएको पाइन्छ। यसपछि वीरगन्जमा टेलिफोन विस्तार गरिएको थियो।

ओपेन वायर म्याग्नेटो प्रविधिमा आधारित उक्त फोन सेवाका लागि काठमाडौंबाट थानकोट, चीसापानीगढी, भीमफेदी, भैंसे, हेटौंडा, अमलेखगन्ज हुँदै वीरगन्जसम्म तार तानिएको थियो। आम नेपालीका लागि भने १९७४ जेठ १ गतेबाट फोन खुला गरिएको थियो।

१०० बर्षपछि आउँदा मुलुकमा दूरसञ्चारको क्रान्ति नै भएको छ । २०६३ पछि हातहातमा मोबाइल, घरघरमा इन्टरनेट सुविधा पुर्याउने सरकारको लक्ष्यले केही बर्षमै सफलता प्राप्त पनि गर्यो । एक शताब्दीमा नेपालले प्रविधिमा फड्कोमात्र मारेन समाचार र सूचनाको संसार नै परिवर्तन गरिदियो । अहिले घरभित्रै बसेर विश्व बजारको प्रविधिसँगै प्रवासमा रहेका आफन्तसँग चाहेको समयमा ‘फेस टु फेस’ कुरा गर्न सकिन्छ । बिहान उठेदेखि बेलुका नसुतेसम्म हामी सूचना प्रविधिकै सेरोफेरोमा घुमिरहेका हुन्छौं । यही सूचना प्रविधिकै कारण आम रुपमा जीवनशैलीमा सरलता आएको छ ।

चिठीपत्रको माध्यमबाट सूचना आदानप्रदान गर्ने नेपाली समाज अहिले फोन, मोबाइल र इन्टरनेटको माध्यमबाट तत्काल सूचना पाउँछन् । अहिले मुलुकमा विभिन्न दुरसञ्चार सेवा प्रदायकहरुले सेवा दिइरहेका छन् । २०३२ सालमै स्थापना भएपनि २०६० सालदेखि कम्पनीको रुपमा स्थापित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ ।

टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गरेकी छन् ।

नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको शर्माको सन्देशमा उल्लेख छ ।

यस्तै सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले स्थापनाकालदेखि नै ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आगामी दिनमा अझ बढी स्तरीय, भरपर्दो र सुलभ सेवा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाएका छन् ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो ।

कम्पनीको आर्थिक वर्ष २०७८. ८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा आठ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

बैंक तथा विभिन्न निकायलाई तथ्याङ्क आदन–प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?