तरकारी खेतीले महिलाहरुको दैनिकी बदलियो..

साझा कथा । बदलिँदो समाज र परिस्थिति अनुसार महिलाहरुको क्षमता पनि वृद्धि हुँदै गइरहेको छ । साथै घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि विभिन्न पेशा व्यवसायमा आकर्षित हुँदै गइरहेका छन् । पाल्पामा पनि महिलाहरु आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका हुन् ।

तरकारी खेतीमा संलग्न हुन थालेपछि पाल्पाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले देवकोटाले काउली, बन्दा उत्पादन गरेर बजारमा दिनहुँजसो बेच्छिन् ।

“घरवरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ”, उनले सुनाइन,“घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।” घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहेकी छन् । घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको उनको अनुभव छ ।

महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा परनिर्भर हुनुपरेको थियो । श्रीमानसँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो तर अहिले तरकारी फलेपछि आफ्नो खर्चको लागि अरुमा निर्भर रहनु परेन । आफ्नो मेहेनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उनी लगायतका कृषकहरु बताउँछन् । तरकारी बिक्रीवापत वार्षिकरूपमा खर्च कटाएर करिब दुई लाख आम्दानी गर्छन महिलाहरु ।

कुन्तादेवी गैरेले आफैँले घरवरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउँछिन् । बर्सेनि चार रोपनी जति जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने गैरे भन्छिन्, “पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्चको जोहो गरिएकै छ ।”

पाल्पाका महिलालाई स्थानीय नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा प्रेरणा मिलेको छ । समूहले महिलालाई आयमूलक क्षेत्रमा उत्प्रेरित गराउन तरकारी खेतीमा हौसला दिन थालेपछि व्यावसायिक तवरबाट तरकारी लगाउन थालेका हुन् ।

घरमा थोरै खानका लागि तरकारी लगाउने राधा खनालले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउँछिन् । पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरु पुरुषसरह नै व्यवसायमा मेहेनत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?