झापामा अन्तर्राष्ट्रिय स्तरको सडक बन्दै

साझा कथा । स्तरीय सडकहरुको अभाव भइरहेको नेपालमा पछिल्लो समय छोटो नै भएपनि स्तरीय सडक निर्माणको क्रम बढ्दै गइरहेको छ । देशका विभिन्न स्थानमा केही किलोमिटर सडक अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ । यसै सन्दर्भमा झापाको विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।

दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँचवटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उहाँले बताउनुभयो । सात मिटर चौडाइ हुने सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी एक सय ६८ वटा इलेक्ट्रिक पोल लगाइनेछ । जसमा सडकको दुवैतर्फ झिलीमिली बनाउन छ सय १९ वटा स्टिल लाइट राखिने छ ।

सडक निर्माणसँगै दायाँबायाँ गरी विभिन्न फूल प्रजातिका एक हजार दुई सय ३६ वटा बिरुवा रोपण गरिनेछ । यसअघि सङ्घीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका सडकभन्दा आधुनिक व्यवस्थित हुने नगरप्रमुख पवित्रा महतराले दाबी गरिन् । जुन सडक जिल्लाकै नमूना सडकका रूपमा स्थापित हुनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?