चूनौतिलाई अवसरमा बदल्ने उर्जामन्त्री लिङदेनको दाबी, के गरे पहिलो निर्णय ?

साझा कथा । नवनियुक्त उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले आफूले लिएको जिम्मेवारी चुनौतिपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने दृढता व्यक्त गरेका छन् । आज सिंहदरबारमा पदभार सम्हाल्दै लिङदेनले उर्जा मन्त्रालयको काम प्राथमिकीकरण गरेर अगाडि बढ्ने बताए ।

उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो पदभार ग्रहण गरेका थिए । सञ्चारकर्मीमाझ उनले शुभकाम सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पारे । उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए ।

पदभार ग्रहण गरे लगत्तै उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरे । विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त लिङदेनले बताए ।

उनले भने, “हामीले यो मन्त्रालय अन्तर्गत हुने कामहरुको बारेमा योजनावद्ध ढंगले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरुको अनुभव समेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी ५ वर्षमा ऊर्जा, जलस्रोत र सिंचाईको क्षेत्रमा हामीले योजनावद्ध ढंगले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के के हुन ? र, कसरी हामी अगाडि जान सक्छौ ? हाम्रो आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउनका लागि एउटा कार्यदल बनाउने निर्णय अहिले गरेका छौं ।”

लिङदेनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको स्पष्ट पारे । अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई आत्मासात गरेर आफूहरुले मिलेर सरकार बनाउनु परेको उनको भनाई थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?