साझाकथा संवाददाता
काठमाडाैं, पुस २८
माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ । तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन् ।
कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाई छ । कालीमाटीमा तरकारी व्यापार गर्दै आउनुभएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तीको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए ।
उनले मानिसहरु कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने जानकारी दिए । उनले अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटलगायतका जिल्लाहरुबाट तरुलहरू धेरै आइरहेको जानकारी दिए ।
त्यस्तै कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आउनुभएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भएपनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताउँछिन् ।
माघे संक्रान्तिका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको बताउँदै उनले गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको जानकारी दिइन् । उनले यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुनेसक्ने बताइन् ।
माघे संक्रान्ति नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ ।
चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरु बताउँछन् । माघे संक्रान्तीको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ति पर्व मनाउने गरिन्छ ।