परम्परागत थारु नाच संरक्षणमा जुटे युवा

साझाकथा संवाददाता

दाङ, पुस २५

रैथाने  संस्कृति संरक्षण गरी परम्परागत थारु नाच संरक्षणमा जुटे दाङका युवाहरू जुटेका छन् ।

तुलसीपुर–१२ रझेनीका फिराेद चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै छन् । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न जुटेका हुन् ।

युवाहरूले थारू नाच जाेगाउन हुट्हुटी ल्याएपछि घोराही उपमहानगरपालिका–१७ ढिकपुरकी १४ वर्षीया अन्जिता चौधरी आफ्नै थारू वेशभूषामा रमाउँदै गरेको पटकपटक भेटिन्छिन् ।

“हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, स्थानीयवासी चौधरीले भने , “यस वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।” योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच पनि नाच्दैनथे ।

परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गए पछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उनको भनाइ थियो ।

त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि परम्पारगत रैथाने संस्कृति जाेगाउन थारुको पोसाकमा सजिएकी छिन् । युवतीहरूले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् । “पहिले बूढापाकाले मात्रै नाच्थे ”, उनले भने, “अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौँ ।”

युहरूले सक्रयता देखाएपछि थारू जातिमा सङ्खिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन बढेकाे छ । यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, हुदुङ्ग्या नाच, मयूर नाच र बड्का नाच पनि नाच्ने गरिन्छ ।

जिल्लाका सबैजसो ठाउँमा मेला महोत्सव पनि लाग्ने र जाति विशेषले आफ्नो मौलिकता देखाउने खालको कार्यक्रमहरू हुन थालेका छन् ।

यस वर्षदेखि आफूहरू नाच संरक्षणमा लागेको युवा सज्जन थारूकाे भनाइ छ ।  थारु समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए । याे उदाहरण मात्रै हो । पछिल्लो समय युवाहरू थारु संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् ।

स्थानीय सविना चाैधरी थारू जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा सुत्या, माल्या टाउकामा मङ्ग्यामा सजिँदा उनले आफूलाई निकै आकर्षित भएको महसुस गर्छिन् ।

जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन् । दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । सबैजसो पालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

“हामीले पनि माघी विशेष कार्यक्रम ग¥यौँ”, उनले भने, “सबैजसो पालिका र वडाले कार्यक्रम गर्नुहुन्छ, यसले पनि युवा थारु संस्कार, संस्कृति संरक्षणमा लाग्ने गर्नुभएको छ ।” तुलसीपुरमा मात्रै एक सय २७ थारु समुदायका गाउँ छन् ।

थारु समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गर्छन् । माघी नजिकिँदै गर्दै गाउँगाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् ।

अहिले माघीको रौनक बढिरहेको छ । आफ्नो वेशभूषामा थारु समुदाय सचिरहेका हुन्छन् । थारु समुदायका परिकार पनि पाकिरहेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि रैथाने लोककलाले स्थान पाएको छ । जनप्रतिनिधि वा स्थानीय सरकार आफैंले चासो नदिए पनि कलासंस्कृतिका युवा र समाजका अगुवाहरूले आग्रह गरेमा लोकसंस्कृति जगेर्नाका गर्न थालेकाे युवाहरूकाे भनाइ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?