बाँके, पुस १९
नेपालगञ्ज उप–महानगरपालिका – ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनकारी दिएको छ ।
दादुरा भेटिएका तीनजना एउटै घर परिवारका हुन् । एउटै परिवारका तीनसहित चारजनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालयको टोली पुगेर शङ्कास्पद दादुराका विरामीहरूको खोजी गरिरहेको छ ।
नेपालमा सन् २०२३ भित्र दादुरा उन्मूलन गर्ने सरकारी लक्ष्य रहेको भए अहिले दादुराका विरामीहरु भेटिन थालेपछि लक्ष्य पुरा गर्न चुनौती हुने देखिएको छ ।
टोलमा १५ जना शङ्कास्पद भेटिएकोमा पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चारजनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी विकल्प चौधरीले जानकारी दिनुभयो ।
महामारीको रुपमा लिने गरिएकोमा एउटै घरमा चारजनामा दादुराका विरामी भेटिएकाले स्वास्थ्य कार्यालयले महामारीको रुपमा लिँदै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
“दादुराको खोप नलगाएका र पुरा खोप नलगाएका बालबालिकामा दादुरा देखिन्छ,” स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर नरेश श्रेष्ठले भने,– “एउटै परिवारमा धेरैमा दादुरा देखिएकाले गम्भीररुपमा लिएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।”