जस्को नीति, उस्कै नेतृत्व

भद्रा पराजुली भण्डारी

मुलुकमा आम निर्वाचन ‘सहज र शान्तिपूर्ण’ रूपमा सम्पन्न भएको छ। आम निर्वाचनले मुलुकलाई निकास मात्र दिएको नभई नेपालको लोकतान्त्रिक इतिहासको ‘मियो’ शक्तिका रूपमा नेपाली कांग्रेसलाई स्थापितसमेत गरेको छ।

राजनीतिक व्यवस्था बदल्न नेपाली कांग्रेसले इतिहासमा पटक–पटक जोखिम उठायो। नेपाली कांग्रेसको आह्वानलाई नेपाली जनताले पत्याए र साथसमेत दिए। संसारमै उत्कृष्ट मानिएको व्यवस्था आज नेपालमा विद्यमान छ। अब व्यवस्था परिवर्तनको आन्दोलनको आवश्यकता नरहेकाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नु पर्ने आवश्यकता छ।

हिजो निर्वाचनका समय जनता सामु प्रस्तुत ‘राजनीतिक स्थिरता, सुशासन र समृद्धि’का मुद्दामा सरकार केन्द्रित हुन जरुरी छ। निर्वाचन पूर्वगठबन्धनले जनताबीच व्यक्त गरेका प्रतिबद्धताका आधारमा जनताले गठबन्धनका पक्षमा मतदान गरे। जसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नु भएको थियो। तसर्थ पनि आज मुलुकले पुनः एकपटक देउवाकै नेतृत्वमा गठबन्धनको सरकार खोजेको छ।

सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख चयनजस्ता विषयमा सतहमै झगडा देखा पर्ने गरी गठबन्धन दलभित्र बेमेल सिर्जना भएमा जनतामा नकारात्मक सन्देश प्रवाहित हुन्छ। ‘पोजिसन’ बाँडफाँटको विषय मिडियासम्म नपुग्ने गरी आन्तरिक सहमतिमा टुंग्याउनु गठबन्धनको हितमा छ। गठबन्धनले सरकार निर्माणमा बहुमत हासिल गर्दा ‘अपोजिसन’को भूमिकामा नेकपा एमालेलाई देख्न नेपाली जनताले चाहेका छन्।

जनताले मूलधारका राजनीतिक दललाई सच्चिन दबाब दिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत उल्लेख्य मत दिएर संसद्मा बलियो उपस्थिति गराइदिएका छन्। यी सबै विषयको हेक्काका आधारमा गठबन्धनले भावी राजनीतिको ‘मार्गचित्र’ कोर्न सक्दा मात्र राजनीतिक स्थिरताका विषयले मूर्तता पाउने हो।

राजनीतिक स्थिरता र समृद्धिको विषयमा नवगठित सरकारबाट आशा राखिने ठाउँ समाप्तितिर गएमा नेपालको राजनीतिले नराम्रो मोड अर्थात् ‘राजनीतिक अस्थिरता’ सिर्जना हुन पुग्छ। गणतन्त्रको समेत स्थायित्वमा प्रश्न उठ्न पुग्छ।

नेपालका हरेक आवधिक निर्वाचनमा जनताले कुनै न कुनै दललाई ठूलो बनाएकै छन्। पछिल्लो आम निर्वाचनमा जम्माजम्मी ६१ प्रतिशत मात्र मत खसेबाट निर्वाचनमा जनताको उत्साह घट्दै गएको देखिन्छ। यो स्थितिको निराकरणका लागि पनि नवनिर्मित सरकारले राजनीतिक स्थिरता र समृद्धिको सपना कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता देखिएको हो।

खासगरी जनताले हिजो प्रत्यक्षमा २३ सिट मात्र भएको कांग्रेसलाई आजका मितिमा ५५ भन्दामाथि नै प्रत्यक्षमा जिताउनुको अर्थ पनि कांग्रेसप्रति जनताको भरोसा छ भन्ने नै हो।

अबको सरकारको प्राथमिकतामा अमूर्तरूपमा भनिने समृद्धिभन्दा पनि जनजीविकासँग जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, बिजुली र आप्mनो उत्पादन सहरसम्म पुर्‍याउने सडक निर्माण तथा विस्तारजस्ता विषय पर्नुपर्ने हुन्छ। दैनिक सयौंको संख्यमा खाँडी जाने लामबद्ध लर्काे रोक्ने भनेर मात्र पुग्दैन त्यसको निम्ति स्वरोजगार कार्यक्रम तथा ठूला र मझौला उद्योग निर्वाध रूपमा सञ्चालन हुने वातावरण सरकारको प्राथमिकतामा पर्न जरुरी छ।

विकासले फड्को मार्न राजनीतिक स्थिरता बेगर सम्भव छैन। राजनीतिक स्थिरताका निम्ति मूलतः गठबन्धन नै चनाखो हुन जरुरी छ। गठबन्धनका दलले भनेको राजनीतिक स्थिरता र समृद्धिकै कारण जनमत प्राप्त भएको हेक्का गठबन्धनले राख्न सकेन भने मुलुक पुनः राजनीतिक अस्थिरताको ‘दुश्चक्र’मा फस्ने निश्चित प्रायः छ।

विपक्षमा रहेको नेकपा एमाले ‘गठबन्धन’मा फुट पैदा होस् नै भन्ने चाहन्छ। अझ गठबन्धनभित्रका केही दल लिएर सरकार निर्माण गर्ने उसको चाहना त रहन्छ नै, त्यो चाहना विपक्षीको हैसियतले स्वाभाविक पनि हो। तसर्थ, यतिबेला गठबन्धनले हिजो सरकार निर्माण गर्दा र त्यसपछि निर्वाचनमा जाँदाको ‘प्रतिबद्धता’ सम्झनु सान्दर्भिक हुनेछ। जनताबीच गरेका प्रतिबद्धता भुल्दै जाँदा दलहरू जनताबाट तिरस्कृत हुने हुन्।

नेपालमा आज ‘समृद्धि’भन्दा पनि समस्याका रूपमा ‘राजनीतिक स्थिरता र सुशासन’ देखिएको छ। अस्थिर राजनीतिले वैदेशिक सम्बन्धमा देखा परेको असमानताले ‘दाता’ समेत भड्किने स्थिति छ। वैदेशिक ऋण वा अनुदानको भरमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको प्रगति दुःखद् छ। वैदेशिक कूटनीतिक सम्बन्ध दलीय आधारमा हुने गरेको छ ! नेपाललाई पत्याइने आधार घट्दै गएको विदेशीहरूले ने बताउन थालेका छन्।

तसर्थ पनि आसन्न सरकारका प्राथमिकतामा यी विषय पर्न नसक्दा राजनीति र सरकार दुवैको स्थायित्वमा संशय पैदा हुँदा मुलुक पुनः सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दकालीन समयको झैं अस्थिरताको दुष्चक्रमा पर्न पुग्दछ। यो विषयमा राजनीतिक रूपमा परिपक्व नेपाली कांग्रेस र त्यो पार्टीका नेतागण अवश्य पनि बेखबर हुनु हुन्न। नेपाली राजनीतिमा ‘मियो शक्ति’ भनेर चिनिएको कांग्रेसकै कारण नेपाल आज गणतान्त्रिक ‘युग’मा प्रवेश गरेको हो।

गत निर्वाचनबाट जनताको जनमत दलीय आधारमा प्राप्त भइसक्यो। सत्ता र प्रतिपक्ष दुवैको रोजाइमा अब समुन्नत नेपाल निर्माण पर्न सक्नु पर्दछ। आवधिक निर्वाचन त एउटा प्रक्रिया मात्र हो। दलले गर्ने भनेकै जनताको निम्ति हो।

प्रतिपक्षको समेत दायित्व समृद्धिमा हुन जरुरी छ। मूलधारका दलमा विचलन नआओस् भनेर ‘घण्टी’लाई एउटा ठिक्क खाले शक्ति बनाएर संसद्मा जनताले पठाए। यसबाट मूलधारका दलले सिक्न जरुरी छ। खासगरी दलको निर्माण नै जनताको लागि हो, जनताका एजेन्डा कुन दलले मिहिन रूपमा अध्ययन गरेर उठाउँछ, त्यही दलका पक्षमा जनताले मदान गर्ने हुन्। यो विषयको हेक्का अवश्य पनि मूलधारका दललाई छ।

तसर्थ पनि आजका मितिमा कांग्रेस नेतृत्वमा निर्मित आसन्न सरकारको प्राथमिकतामा हिजो जनता सामु व्यक्त प्रतिबद्धता ‘राजनीतिक स्थिरता, सुशासन र समृद्धि’ पर्न जरुरी छ। तबमात्र देशले स्थिरता पाउने सँगै राजनीतिक हिसाबले पनि स्थायित्व पाउन सम्भव छ। यसका निम्ति कांग्रेस नेतृत्वमा सरकार निर्माण नै आजको प्रमुख आवश्यक्ता हो।

– पराजुली, नेपाली कांग्रेस बागमती प्रदेश समितिकी सदस्य हुन्।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?