ऐन नहुँदा घुस्यो इनड्राइभर

लक्ष्मण दर्नाल

काठमाडौँ, पुस ३

आवश्यक ऐन कानुन अभावमा अरूले कसरी खेल्न पाउँछन् भन्ने उदाहरण ‘इनड्राइभर एप’ बनेको छ। नेपालमा वाहन साझेदारी (राइडर सेयरिङ) सेवाको लोकप्रियता बढ्दै गएको छ। तर त्यसको नियमनका लागि कानुन र संयन्त्र नभएको फाइदा उठाउँदै अदृश्य रूपबाट ‘इनड्राइभर एप’को कारोबार सुरु भएको छ।

इनड्राइभरले केही समयदेखि नेपालमा दर्ता नै नगरी तथा सम्पर्क कार्यालयसमेत नराखी सेवा दिइरहेको छ। त्यस एपमा गरिने सम्पर्कको माध्यममा पनि नेपालमा कुनै आधिकारिक व्यक्ति नभएको जवाफ आउँछ।

गोरखापत्रको पटक–पटकको लामो प्रयासमा इनड्राइभर एपमा ‘लाइभ सपोर्ट सेन्टर’मा झारा टार्ने किसिमले दुईवटा इमेलमा सम्पर्क गर्न भनियो। तर अन्तिम पटकको प्रश्नमा भने “कम्पनी नेपालमा दर्ता नभएको तर प्रक्रियामा रहेको” जनायो। यसका लागि उसले नेपालकै कमजोरी देखाएको छ।

तर जवाफमा भनिएको छ, “नेपालमा राइड सेयरिङ सेवासँग सम्बन्धित अहिलेसम्म कुनै पनि नियम र लाइसेन्स व्यवस्था छैन भन्ने पनि जानकारीमा राख्नुहोस् । राइड सेयरिङसँग सम्बन्धित कुनै पनि नियम नभएकाले नेपाली नागरिकलाई उनीहरूको व्यवसायका रूपमा सेवा सञ्चालनमा रोक लगाउन प्रतिबन्ध छैन।”

इनड्राइभरले दाबी गरेको कानुनी छिद्रमात्र होइन, यससम्बन्धी कानुन र नियमन अभाव पहिले पनि उजागर भएको हो। पठाओ र टुटलजस्ता सेवाका लागि पनि नियमन गर्ने कानुन नभएको दाबी प्रहरीले गर्दै आएको छ।

“कानुनमा व्यवस्था नभएकाले ट्राफिक प्रहरीले पठाओ र टुटललाई चिन्न सकेको छैन। नियमन र कारबाहीको त कुनै आधार नै छैन,” काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भन्नुभयो, “कानुनी व्यवस्था केही छैन, पठाओ, टुटल र इनड्राइभर के हो हामी चिन्दैनौँ। कतै गुनासो वा उजुरी आयो भने कारबाही गर्छौं।”

यस्तैमा इनड्राइभरले खेल्ने अवसर पाएको हो। यसरी कानुनी रूपमा इनड्राइभरको सेवा नेपालमा अवैधानिक भए पनि उसको एपमा राइडरले अनलाइनमार्फत दर्ता गरेर सेवा दिने गरेका छन्। राइडरले ‘इनड्राइभर एप’मार्फत सेवा दिँदा कम्पनीलाई कमिसन दिनुपर्दैन, उनीहरूले पठाओ र टुटलजस्ता ‘राइड सेयरिङ एप’भन्दा सस्तोमा यात्रु ओसारिरहेका छन्।

त्यतिमात्र होइन, इनड्राइभरका विज्ञापन विभिन्न स्थान र माध्यममा दिन थालिएको छ। गोरखापत्रको पहिलो पटकको प्रश्नमा पनि विज्ञापनका लागि मार्केटिङको इमेल दिएर कुरा गर्न भनियो। विज्ञापनका लागि नभई समाचारका लागि कुरा गर्न खोजिएको भनेपछि फेरि सपोर्ट सिस्टममा कुरा गर्न भनियो तर दुवै इमेलमा नेपालमा कार्यालय वा आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न तिनीहरूको नाम र ठेगाना दिनूस् भन्दा केही जानकारी दिइएन।

अहिले रत्नपार्कको आकाशेपुलमा होर्डिङ बोर्ड राखिएको छ। काठमाडौँ महानगरपालिकाको क्षेत्राधिकारमा रहेको उक्त स्थानमा कसले होर्डिङ बोर्ड राख्यो भन्ने काठमाडौँ महानगरपालिकालाई नै जानकारी छैन। महानगरपालिका राजस्व विभागका निर्देशक डा. शिवराज अधिकारीले भन्नुभयो, “विज्ञापन गर्ने स्थान हामीले ठेक्कामा दिएका हुन्छौँ, कुन कम्पनीले इनड्राइभरको विज्ञापन राखेको हो, त्यो हेर्नुपर्ने हुन्छ।”

इनड्राइभरका चालकलाई पनि आफूहरू कहाँबाट सञ्चालित छौँ भन्ने थाहा छैन। “अनलाइनबाट कम्पनीलाई काजजात बुझाएर चलाएका छौँ तर कम्पनी कहाँ छ भन्ने हामीलाई थाहा छैन। कम्पनीलाई कमिसन पनि बुझाउनुपरेको छैन र मागेको पनि छैन,” इनड्राइभरका एक राइडर भन्छन्।

कानुनी रूपमा कतै दर्ता नभई नेपालमा इनड्राइभरमार्फत खुलेआम व्यापार भएको भन्दै इनड्राइभर बन्द गराउन सर्वोच्चमा रिट दायर भएको थियो। अधिवक्ता जगतबहादुर रावलले ‘राइड सेयरिङ एप’ इनड्राइभर नेपालमा अवैधानिक रूपमा चलिरहेको भन्दै बन्द गराउन मागसहित गत असोजमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। नेपालमा दर्ता नै नभएको उक्त कम्पनीले गरेका सबै काम नेपालको कानुनविपरीत रहेको दाबी गर्दै मुद्दा दायर भएको थियो।

टुटल र पठाओजस्ता ‘राइड सेयरिङ एप’मार्फत मोटरसाइल र ट्याक्सीले दिइरहेको सेवामा कुनै पनि निकायले प्रत्यक्ष नियमन गर्न सक्ने अवस्था छैन। यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरूले भन्नुभयो, “सङ्घीय कानुनमा त्यस्तो व्यवस्था छैन, प्रदेश कानुनले समेट्न थालेको पाइन्छ, यसको नियमन व्यवस्थापन प्रदेशअन्तर्गत नै पर्छ। तर एउटा प्रयोजनमा ल्याएको सवारीसाधन अर्को प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था भने विद्यमान छ।”

श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले भने पठाओ र टुटल व्यवस्थापनका लागि कार्यविधि ल्याउन लागेको जनाएको छ। प्रवक्ता हरिहर पोख्रेलले भन्नुभयो, “कार्यविधि बनाउने तयारीमा छौँ, छलफलकै चरणमा छौँ, मोटरसाइकलको हकमा प्रयोजन थप्ने कि भन्ने पनि कुरा आएको छ। तर छलफलमै भएकाले यसै भन्न सकिन्न। कार्यविधि निर्देशिका ल्याउनुपर्छ भन्नेमा दुईमत छैन।”

पठाओ र टुटल सेवा सञ्चालनमा रहेका निजी सवारीसाधनले सार्वजनिक यातायात क्षेत्रको बजार हस्तक्षेप बढाइरहेका छन्। ‘राइड सेयरिङ एप’को सेवा तीव्र गतिमा फैलिइरहेको छ। यात्रुले पनि सस्तो र सहज ठानेर दैनिक उपभोग गरिरहेका छन्। तर यात्रु र राइडरलाई सजिलो देखिए पनि यसको सुरक्षा, नियमन र जवाफदेहिताको सवाल भने अनुत्तरित छ।

इनड्राइभर एप १५ करोडभन्दा बढी डाउनलोड भएको र ४७ वटा देशमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय ‘राइड सेयरिङ’ सेवा हो। माउन्टेन भ्यु, क्यालिफोर्नियामा मुख्यालय रहेको इनड्राइभर विश्वव्यापी रूपमा दोस्रो ठूलो ‘राइड सेयरिङ एप’ हो।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?