रमेश विकलका दुई पुस्तक लोकार्पण, छ पुरस्कृत

काठमाडाैं, पुस ३

साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले लोकार्पण गर्नुभएको हो ।

पुस्तक लोकार्पणपश्चात ‘रमेश विकलका प्रतिनिधि कथा’का सम्पादक प्रा डा हेमराज पौडेलले रमेश विकललाई नेपाली साहित्यको आख्याङ्क विराट व्यक्ति भनेर चिनिने बताउनुभयो । साहित्यकार विकल विशेषगरी समाजका निम्न वर्गीय जीवनलाई प्राथमिकतामा राखेर निम्न वर्गलाई माथि उठाउने उद्देश्य र समाजलाई रुपान्तरण गर्ने चेतनाका साथ साहित्यमा अघि बढेको बताउनुभयो ।

साहित्यकार विकलका प्रतिनिधि कथाभित्र अनुहार मेटिएको मान्छे, आज फेरि नयाँ तन्ना फेरिन्छ, आतङ्कमा बाँचेका बस्ती, उसले जन्माएको छोरोलगायतका विषयवस्तु समावेश गरिएका छन् ।

त्यस्तै पुस्तक ‘चार पुस्ताका कथा’का सम्पादक आलोक चालिसेले साहित्यकार विकलका कथामा जे छ, व्यवहार र लेखनमा पनि एउटै कुराहरू समावेश हुनु उहाँको मुख्य विशेषता नै रहेको बताउनुभयो । चार पुस्ताका कथाभित्र साहित्यकार रमेश विकलको पहिलो कथा गरिब, नयाँ सडकको गीत, उर्मिला भाउजु, एउटा बुढो भ्वाइलेन र उहाँको अन्तिम कथा विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी शासक समावेश गरिएका छन् ।

शनिबार गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहमा रमेश विकल साहित्य प्रतिष्ठानले विभिन्न छ वटा विधामा पुरस्कार वितरण गरेको थियो ।

जसमा रमेश विकल विङ्मय पुरस्कारबाट तेजेश्वरबाबु ग्वंग, विकल–सुशीला समाजसेवा पुरस्कारबाट सपना रोका मगर, रमेश विकल–सिर्जना पुरस्कारबाट रमेश गोर्खाली, विकल बालसाहित्य पुरस्कारबाट लक्ष्मी उप्रेती, विकल–सुशीला सङ्घर्षशील महिला पुरस्कारबाट धर्मशिला चापागाईँ र रमेश विकल कला–सङ्गीत पुरस्कारबाट बद्री अधिकारीलगायतलाई नगदसहित पुरस्कृत हुनुभएको थियो ।

रमेश विकल साहित्यिक प्रतिष्ठानका सदस्यसचिव विजय चालिसेले साहित्यकार विकलबाट नेपाली साहित्यमा चयन गरिने भाषाशैली, लेखनशैली र सरल शब्दहरू नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्ने बताउनुभयो ।

साहित्यकार विकलले लिनुभएका अग्रगमनको प्रकृति समाज पछि धकेल्ने नभएर समाज अघि बढाउनेमा योगदान रहने खालका सन्देश नेपाली साहित्यमा हुनुपर्ने सदस्यसचिव चालिसेले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले साहित्य क्षेत्रमा नगरपालिकाले विभिन्न खालका गतिविधि गर्दै आएकोे बताउनुभयो । उहाँले रमेश विकल साहित्य प्रतिष्ठानलाई अगाडि बढाउन नगरको पनि दायित्व भएको जनाउनुभयो ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?