साविक विजेता फ्रान्स फाइनलमा

गाेविन्द रेग्मी

काठमाडौं, मंसिर २९

साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गर्नुभयो । खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो ।

पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सको उत्साह जगाउनुभयो । हर्नान्डेजले डिबक्स भित्र  प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्नुभएको थियो । फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो ।

औसमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गर्नुभएका मुआनीले मैदान छिरेको पहिलो मिनेटमै गोल गर्नुभएको थियो । उहाँले डिबक्सभित्र केलियन एमबाप्पेले मोरोक्कोका रक्षकलाई छल्दै दिएको पासमा पोस्ट नजिकबाट गोल गर्नुभयो । मुआनीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

यता बल पोसेसनमा पक्कड जमाएपनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन । फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो ।

सन् १९९८ र २०१८ मा दुई पटक विश्वकप उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि अर्जेन्टिनासँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराएर फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार राति हुनेछ ।

(एजेन्सीबाट)

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?