अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा

काठमाडौं, मंसिर २८

अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो । सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गर्नुभयो । अर्जेन्टिनाले ३४औं मिनेटमा पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको उत्साह जगाउनुभयो । डिबक्सभित्र क्रोएसियाका गोलरक्षका डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गर्नुभयो ।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११औं गोल हो । मेस्सीले यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्नुभएको हो ।

जारी विश्वकपमा पाँच गोल गर्नुभएका मेस्सी गोल्डेन बुटको समेत दौडमा हुनुहुन्छ । मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहनु भएका फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पाँच र ओलिभर गिरोडले चार गोल गर्नु भएको छ ।

पाँचौं पटक विश्वकप खेलिरहनु भएका मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडी जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान समेत बराबरी गर्नुभएको छ ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाका लागि अल्भारेजले ३९औं मिनेटमा गोल गर्दै टोलीको अगता दोब्बर बनाउनुभयो । उहाँले काउन्टर प्रहारमा क्रोएसियाका रक्षकलाई छल्दै जाली चुमाउनुभएको थियो ।

त्यसपछि ६९औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै फाइनलमा लग्नुभयो । उहाँले दोस्रो गोल मेस्सीको पासमा गर्नुभएको हो । बल पोसेसनमा अब्बल देखिएको क्रोएसियाले गोल फर्काउन भने सकेन ।

पहिलो हाफमा आक्रामक देखिएको क्रोएसिया अर्जेन्टिनाको पेनाल्टी गोलपछि दबाबमा रह्यो । ६१ प्रतिशत बल पोसेसन राखेको क्रोएसियाले अन्तत: गोलरहित हार खेप्यो । साविक उपविजेता क्रोएसियाको दोस्रो पटक फाइनल पुग्ने लक्ष्य सफल भएन ।

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?