एउटै गोल नखाई सेमिफाइनलमा मोरोक्को

काठमाडौं, मंसिर २७

कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलदेखि चार पटकको च्याम्पियन जर्मनी इङ्गल्यान्ड र स्पेनको विश्वकप यात्रा बीचैमा सकिएको छ ।

चर्चित टोली विश्वकपबाट बाहिरिएसँगै अब साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, पूर्व विजेता अर्जेन्टिना र नयाँ टोली मोरोक्कोले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया तथा बुधबार मोरोक्को र साबिक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकपको इतिहासमै अफ्रिकी टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरोक्कोले विश्वकपमा अफ्रिकी देशबाटै पहिलो पटक सेमिफाइनलमा प्रतिनिधित्व गर्ने टोलीको नयाँ इतिहास रचेको छ । इतिहाससँगै मोरोक्को जारी विश्वकपमा एउटै गोल नखाई सेमिफाइनलमा पुग्ने टोलीसमेत बनेको छ।

कतार विश्वकपमा मोरोक्कोले समूह ‘एफ’ बाट प्रतिस्पर्धा गरेको थियो । मोरोक्कोले समूहको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा विश्व नम्बर दुई वरीयताको बेल्जियमलाई २–० गोलले पन्छाएको मोरोक्कोले तेस्रो खेलमा क्यानडालाई २–१ गोलले हराएको थियो ।

तर, मोरोक्कोले क्यानडासँग खाएको गोल आत्मघाती थियो । समूह चरणमा तीन खेलबाट सात अङ्क बनाएको मोरोक्को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । सन् १९८६ पछि मोरोक्को पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

विश्वकप अघि कसैलै नपत्याएको मोरोक्कोको यात्रा बिस्तारै उकालो लागेको छ । मोरोक्कोले नकआउट चरणमा पनि आफ्नो दमदार प्रदर्शन जारी राख्यो । मोरोक्कोले अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा ३–० गोलले स्तब्ध बनायो । त्यसपछि क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगललाई १–० गोलको हार चखाएपछि मोरोक्को विश्व फुटबलमा नयाँ शक्तिको रूपमा स्थापित भएको छ ।

सेमिफाइनलसम्म आइपुग्दा बलिया टोलीलाई हराउने र गोल नखाने मोरोक्कोको खेलले विश्व फुटबलमा नयाँ तरङ्ग पैदा भएको छ । त्यसैले बुधबार फ्रान्सले सेमिफाइनलमा भिड्दा मोरोक्कोको कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

एजेन्सीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?