दश प्रतिशत समुद्री जीवन लोप हुने जोखिममा

काठमाडाैं, मंसिर २६

जलवायु परिवर्तनदेखि प्रदूषणसम्मका ‘विनाशकारी’ मानव गतिविधिका कारण सामुद्रिक जीवन जोखिममा परेको छ । पानीमुनि रहेका करिब १० प्रतिशत वनस्पति र जीव लोप हुने जोखिममा पुगेको प्रजातिहरूको पछिल्लो रातो सूची ‘रेड लिस्ट अफ थे्रटेन्ड स्पेसिस’ले देखाएको छ ।

प्रतिवेदन मोन्ट्रियलमा प्रकृतिसम्बन्धी राष्ट्र संघको शिखर सम्मेलनको संयोग पारेर सार्वजनिक गरिएको थियो । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूलाई ‘विनाशको नृत्य’ अन्त्य गर्न, वासस्थानको क्षति रोक्न र त्यसलाई उल्ट्याउने सम्झौता अनुमोदन गर्न आग्रह गरेका छन् ।

१७ हजार नौ सय तीन समुद्री वनस्पति तथा जीव प्रजातिमध्ये एक हजार पाँच सय ५० भन्दा बढी लोपोन्मुख

जैविक विविधताको ब्यारोमिटरको रूपमा काम गर्ने र वर्षमा थुप्रैपटक प्रकाशित हुने पछिल्लो सूचीअनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)द्वारा मूल्यांकन गरिएका १७ हजार ९०३ समुद्री वनस्पति र जनावरमध्ये एक हजार ५५० भन्दा बढी लोप हुने जोखिममा रहेको पाइएको छ ।

‘यसले मावन गतिविधिले समुद्री प्रजातिमा निकै विनाशकारी प्रभाव पारिरहेको देखाउँछ,’ आइयुसिएन रेड लिस्टका प्रमुख क्रेग हिल्टन–टेलरले रोयटर्ससँग भनेका छन्, ‘पानीमुनि वास्तवमा के भइरहेको छ भनेर तपाईंले देख्न सक्नुहुन्न । तसर्थ, प्रजातिहरूको अवस्थाको आकलन गरी यसले हामीलाई त्यहाँ के भइरहेको छ भन्ने वास्तविक सूचक दिन्छ । यो शुभ समाचार होइन ।’

हिल्टन–टेलर जोखिममा रहेका समुद्री प्रजातिहरूको संख्या हालको तथ्यांकको तुलनामा धेरै बढी हुन सक्छ भन्छन् । किनकि अहिलेसम्म विश्लेषण गरिएका धेरैजसो माछा प्रजाति अहिले खतरामा छैनन् ।

सामान्यतया समुद्री गाई भनेर चिनिने मोटो खैरो शाकाहारी स्तनपायी जनावर डगोङको संख्या पूर्वी अफ्रिकामा घटेर २५० भन्दा थोरै (वयस्क) र न्यु क्यालेडोनियाको संख्या फ्रान्सेली जलक्षेत्रमा ९०० भन्दा कममा झरेको आइयुसिएनले जनाएको छ । तिनीहरूले सामना गर्ने खतरामध्ये मोजाम्बिकको सन्दर्भमा तेल र ग्यासको अन्वेषण तथा उत्पादन र प्रशान्त महासागरमा निकल खानीबाट हुने प्रदूषणका कारण तिनीहरूको मुख्य खाद्यस्रोत समुद्री घाँसको क्षति मुख्य हो ।

पछिल्लो सूचीले विलासी समुद्री खानाको रूपमा बेचिने एबलोन प्रजाति (एक प्रकारको मोलस्क)को पहिलोपटक समीक्षा गरेको छ । समीक्षामा तिनीहरूमध्ये लगभग ४४ प्रतिशत लोप भएको पत्ता लागेको छ । रोग फैलाएर र उनीहरूको खाद्य स्रोतहरू मासेर बढ्दो तातो समुद्री छालहरूले सामूहिक मृत्यु निम्त्याएको आइयुसिएनले जनाएको छ ।

ठाडो पत्थरजस्तो देखिने क्यारिबियन प्रजातिको पिलर कोरल ‘जोखम’बाट ‘गम्भीर रूपमा लोपोन्मुख’को वर्गमा पुगेको छ । ब्लिचिङ पाउडर र रोगका कारण सन् १९९० यता यसको संख्या ८० प्रतिशतभन्दा बढीले संकुचित भएको छ ।

‘यी प्रजातिहरूको डरलाग्दो स्थितिले हामीलाई स्तब्ध बनाउन र तत्काल कदम चाल्न प्रेरित गर्नुपर्छ,’ आइयुसिएन स्पाइसिज सर्भाइभल कमिसन म्यारिन कन्जर्भेसन कमिटीका अध्यक्ष अमान्डा भिन्सेन्ट भन्छन् ।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?