कालिञ्चोक मन्दिरबाट श्रीअन्तुसम्मको साइकलयात्रा सुरु

बाबुराम शर्मा

दोलखा, मङ्सिर २३

दोलखाका युवा अभिनय कार्कीले दोलखाको प्रसिद्ध तथा पवित्र कालिञ्चोक मन्दिरबाट इलामको श्रीअन्तुसम्मको साइकलयात्रा सुरु गर्नुभएको छ । यो तेस्रो साइकलयात्रामा गन्तव्यको बाटोमा पर्ने टिपिकल कुरालाई लिएर अनुभव गर्दै भिडियो बनाई मुलुकलाई विश्वसामु चिनाउने मुख्य ध्येय रहेको उहाँले बताउनुभयो ।

यात्राको क्रममा काठमाडौँ पुग्नुभएका दोलखाको कालिञ्चोक गाउँपालिका–३ लामीडाँडा पोखरेका २१ वर्षीय युवा कार्कीको आजको योगदान, पर्यटकीय प्रवर्द्धन पनि नारा रहेको छ ।

उहाँले भन्नुभयो, ‘जति दिन लागे पनि यात्रामा पर्ने स्थानका भित्री बाटोमा पुगी युवा, ज्येष्ठ नागरिक तथा किसानका सुख दुःखका क्षणलाई भिडियोमा कैद गर्दै लानेछु । यसलाई अनलाइन तथा भिडियोमा राख्दै जाने तथा अन्त्यमा सबैलाई समेटेर भिडियो बुक बनाउने लक्ष्य राखेको छु ।

उहाँले विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामनासहित गत दुई वर्षअघि दुई महिना लगाएर मेची–महाकाली पैदलयात्रा सम्पन्न गरिसक्नु भएको छ । गत साल उहाँले ७७ वटै जिल्लाको सय दिने साइकलयात्रा पनि सम्पन्न गर्नु भएको छ ।

फ्रस्टेसन डिप्रेसन र लागूऔषध दुर्व्यसनलाई त्यागौँ,समृद्ध राष्ट्र निर्माणका लागि युवा एक जुट बनौँ भन्ने मुख्य नारालाई सन्देशका रूपमा फैलाउन सय दिने साइकल यात्रा सम्पन्न गरिएको थियो ।

यसअघि दोलखाबाट रामेछाप हुँदै ओखलढुङ्गासहितका पूर्वी भेगबाट तराईदेखि पश्चिम हुँदै काठमाडौँ भएर साइकल यात्रा सम्पन्न गर्नुभएको थियो । साइकल यात्राका क्रममा सङ्कलित तथ्यहरू सार्वजनिक गर्ने उहाँको लक्ष्य रहेको छ ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?