उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

तस्वीर हिमाली पत्रिकाबाट

काठमाडाैं, मंसिर १६

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जानुहुने भएको छ ।

नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लाग्नुभएको हो । यसअघि २०७८ साल मङ्सिरमा पनि उहाँको सोही अस्पतालमा एक महिना उपचार भएको थियो ।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लाग्नुभएको हो ।

काठमाडौँमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहनुभएका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लाग्नुभएको हो ।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसक्नुभएको छ । पछिल्लो समय उहाँ काठमाडौँमा बसी आराम गरिरहनुभएको छ ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?