एमालेसँग व्यक्ति केन्द्रित तालमेल होइन

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा-३ का उम्मेदवार हुन्। आफूलाई केन्द्रमा राखेर लिङदेनले एमालेसँग चुनावी तालमेल गरेको आरोप छ। तर, लिङदेन भन्छन्, व्यक्ति केन्द्रितभन्दा पनि यसले पार्टीको हितका लागि मद्दत गर्छ भन्ने दृष्टिकोण राखेर हामीले सहकार्य गरेका हौं।’ चुनावी समीकरण, समसामयिक राजनीति र निर्वाचन क्षेत्रका मुद्दाबारे अन्नपूर्ण पोस्ट्का सुब्रत न्यौपानेले लिङदेनसँग गरेको कुराकानी :

राप्रपाले एमालेको साथ रोज्यो। एमालेसँगको मोह कहिलेसम्म रहन्छ ?

एमाले र राप्रपाले झापाको सन्दर्भमा सहकार्य गरेका छौं। पार्टीका आआफ्नै वैचारिक लाइन छन्। दृष्टिकोण र मान्यताहरू छन्। तर, हामीले अंगिकार गरेका विचारहरू राष्ट्र र जनताका लागि हो। हामीभन्दा माथि देश छ।

देशभन्दा माथि कोही छैन। पछिल्ला दिनमा नेपालको राजनीतिमा जुन प्रकारको वैदेशिक हस्तक्षेप बढ्दै गएको छ। त्यसले विदेशीहरूको साथ र समर्थनबिना मन्त्री, प्रधानमन्त्री हुन् सकिँदैन भन्ने मानसिकताको विकास भएको छ।

मन्त्री, प्रधानमन्त्री भइयो भने पनि टिक्न सकिँदैन भनेर विदेशीहरूका अगाडि आत्मसमर्पण गर्ने जुन प्रवृत्ति विकसित हुँदै गएको छ, त्यसकै इशारामा गठबन्धन बन्न थालेका छन्। यसलाई चिर्न पनि आंशिक रूपमा एमाले र राप्रपाबीच तालमेल भएको हो। यसलाई अन्यथा लिनुहुँदैन।

कांग्रेस, माओवादी र समाजवादी मिलेर चुनावमा होमिएका छन्। त्यही भएर एमाले र राप्रपालाई पनि मिल्न बाध्य बनाएको हो कि ?

त्यसले पनि कतै न कतै काम गरेको छ। चुनाव भन्नेबित्तिकै जित्नुसँग सम्बन्धित हुन्छ। सत्तारुढ गठबन्धन एउटा टिम बनाएर चुनावमा जाने। अनि हामी प्रतिपक्षमा बस्ने दलहरूले चाहिँ छुट्टाछुट्टै लडेर देखाउँछौं भन्नु मूर्खता मात्र हुन्छ। त्यसैले मिलेर जाँदा राम्रो हो भन्ने लाग्यो। हामी मिलेर जानुमा सत्तारुढ गठबन्धनले पनि बल प्रदान गरेको छ।

दलहरू सरकार बनाउने बेलामा मिले हुँदैन र ? गठबन्धन त स्थायी अभ्यासका रूपमा अगाडि बढ्लाजस्तो देखिन्छ ?

चुनावका बेलामा राजनीतिक दलहरूबीच एकता, गठबन्धन, सहमति वा तालमेल हुनु स्वाभाविक हो। यसलाई अन्यथा लिनुहुँदैन। मिलेर गएकै राम्रो। यसलाई प्रजातान्त्रिक अभ्यासका रूपमा बुझ्नुपर्छ। त्योभन्दा अन्यथा बुझ्न पनि मिल्दैन।

अहिले पनि जनताको दृष्टिकोणमा नेताप्रतिको धारणा वा जनताले नेतालाई हेर्ने दृष्टिकोण छ, त्यसमा परिवर्तन आइसकेको अवस्था छैन।

गठबन्धन र सहकार्यको संस्कृति २०७४ पछाडि अगाडि बढेको हो। अन्य संसदीय व्यवस्था भएका मुलुकहरूमा पनि गठबन्धन अथवा सहकार्यको संस्कृति छ। अघिल्लो पटक पनि सबै राजनीतिक दलहरू मिलेर चुनाव लडेका थिए। अहिले पनि त्यसैको निरन्तरताका रूपमा बुझौ न ! एउटा मञ्चमा तपाईंले नेताहरू आउँदा जनताले कुन चोर आएछ भनेर भन्न थाले भन्नुभएको थियो। अहिले आफैं मत माग्न जाँदा जनताले त्यसो त भनेका छैनन् नि ! आमजनभावना जे हो, त्यो कुरा मात्रै मैले बोलेको हो।

अहिले पनि जनताको दृष्टिकोणमा नेताप्रतिको धारणा वा जनताले नेतालाई हेर्ने दृष्टिकोण छ, त्यसमा परिवर्तन आइसकेको अवस्था छैन।

तपाईंको त्यो अभिव्यक्तिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरको बाच्छो अलि धेरै उफ्रिन्छ भन्नु भएको थियो। आखिर एमालेले अहिले त्यही बाच्छो बोक्नु पर्ने परिस्थिति सिर्जना भयो। यो एमालेको बाध्यता हो कि राप्रपाको ?

कुनै एउटा मञ्चमा, एउटा कुनै विषयमा फरक मत भयो भन्दैमा फेरि बोलचाल नै नहुने। भेटघाट र सहकार्य नहुने भन्ने हुँदैन। अहिले हामीले जुन प्रकारको सहकार्य गरेका छौं, सबै विचार मिलेर होइन। केही विचारमा समानता छन्। गठबन्धन गर्ने दलहरूको पनि विचार मिलेर होइन।

सबैले एकअर्काको विचार स्वीकार गरेर चुनाव लड्न तयार भएका पनि होइनन्। निश्चित एजेन्डाहरूमा मिलेपछि सहकार्य भएको हो। हामीले गरिरहेको सहकार्य भनेको राष्ट्रियता, विकास र सुशासनको मुद्दामा हो। त्यसकारण त्यसबेलाको मेरो र एमालेका अध्यक्षको अभिव्यक्तिले अहिलेको सहकार्यमा केही फरक पार्दैन।

निर्वाचनको मुखमा राजनीतिक दलहरूले शासकीय स्वरूपमा ढंगले परिवर्तन हुनुपर्ने घोषणा गरेका छन्। यति चाँडै फेरबदल हुनुपर्छ भन्ने निष्कर्षमा दलहरू किन पुगेका होलान् ?

हामीले जुनबेला संविधान जारी भयो, त्यो बेला नै संविधान अपुरो छ भनेका थियौं। संविधानले सबैलाई स्पेस दिएको छैन भन्ने कुरा त छर्लंगै छ। यसले देशलाई गन्तव्यमा लैजाँदैन्। देश दुर्घटनातर्फ जान्छ भनेर जुन फरक मत राखेका थियौं, त्यो अहिले आएर सत्य सावित भएको छ।

त्यस बेलाको संविधानको निर्माता हुँ भन्ने दलहरू स्वयंले त्यसलाई स्वीकार गरेका छन्। उनीहरूले अहिले हाम्रै भाषामा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन हुनुपर्छ भनेर कुरा उठाइराखेका छन्। अक्षरहरूमा फरक होला, केही विषयमा फरक देखाउने कोसिस पनि भएको होला।

स्थानीय तहको हाम्रो लोकप्रिय मतको रुझानलाई हेर्ने हो भने यस क्षेत्रमा राप्रपा र एमाले मिलिसकेपछि जितका बारेमा शंका गर्नुपर्ने अवस्था छैन। धेरै हजारको मतान्तर छ। मतान्तर अझै कसरी बढाउन सकिएला भनेर हामी लागेका छौं।

तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि यहाँसम्म आइपुग्दाको राजनीतिलाई समीक्षा गर्ने हो भने ३३ वर्षको समयमा २६ भन्दा बढी सरकार बने। एउटा पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न पाएनन्।

बीचमा विभाजित नभएको कुनै राजनीतिक दल नै रहेनन्। भनेपछि अहिले नेपालको राजनीतिमा नेतृत्व गर्दै आएको पुस्ता मात्रै होइन, प्रणाली पनि काम नगर्ने देखियो।

दुईतिहाइ बहुमत ल्याए पनि, बहुमत ल्याए पनि। यो बीचमा विभाजित नभएको कुनै राजनीतिक दल नै रहेनन्। भनेपछि अहिले नेपालको राजनीतिमा नेतृत्व गर्दै आएको पुस्ता मात्रै होइन, प्रणाली पनि काम नगर्ने देखियो। पुस्ता त दोषी छँदैछ, नेतृत्व पनि दोषी छ। त्यो सँगसँगै अहिलेको प्रणाली पनि दोषी छ। त्यसकारण यो प्रणालीमै परिवर्तन गरेर जानु उपयुक्त हुन्छ।

  • विदेशीहरूकै इशारामा गठबन्धन बन्न थालेका छन्।
  • सत्ताारुढ गठबन्धन टिम बनाएर चुनावमा जाने। प्रतिपक्षमा बस्ने दलहरू छुट्टाछुट्टै लडेर देखाउँछौं भन्नु मुर्खता मात्र हुन्छ।
  • अहिले पनि जनताको दृष्टिकोणमा नेताप्रतिको धारणा वा जनताले नेतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइसकेको छैन।
  • त्यसबेलाको मेरो र एमाले अध्यक्ष केपी ओलीको अभिव्यत्तिले सहकार्यमा केही फरक पार्दैन।
  • संविधान जारी भएकै बेला अपुरो छ भनेका थियौं। संविधानले सबैलाई स्पेस दिएको छैन भन्ने कुरा त छर्लंगै छ।
  • ३३ वर्षको समयमा २६ भन्दा बढी सरकार बने। एउटा पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न पाएनन्।
  • सानो देशमा तीन तहको सरकार छ। ३६ हजारभन्दा बढी जनप्रतिनिधिलाई ऋण काढेर तलबभत्ताा खुवाउनुपर्ने अवस्था छ।
  • सहमति पालना नगर्नेहरू भोलि राप्रपाको कार्यकर्ता रहँदैनन् भनिसकेको छु।

तपाईंको विचारमा ढिलोचाँडो सबै राजनीतिक दलहरू शासकीय स्वरूप फेरबदल गर्ने कुरामा एकै ठाउँमा आइपुग्छन् त ?

देशका लागि यो अनिवार्य छ। हाम्रो सानो देशमा तीन तहको सरकार। ३६ हजारभन्दा बढी जनप्रतिनिधि र तिनलाई ऋण काढेर तलबभत्ता खुवाउनुपर्ने अवस्था छ। तीअन्तर्गतका कर्मचारीलाई ऋण काढेर तलबभत्ता खुवाउनुपर्ने यो अवस्था त देशले धेरै समय धान्न सक्दैन। ढिलोचाँडो ठूला हौं भन्ने राजनीतिक दलहरू पनि यो स्वरूप परिवर्तन गर्नुपर्ने पक्षमा उभिन्छन् भन्ने मलाई लाग्छ।

एमालेले राप्रपालाई र राप्रपाले एमालेलाई साथ दिने विषयमा कार्यकर्ता पंक्तिको भावना कस्तो पाउनु भएको छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी र एमाले आफ्नो वचनमा प्रतिबद्ध पार्टी हुन् र आफूले गरेको निर्णय इमान्दारीपूर्वक पालना गर्छन्। यो कुरा हामीले विगतका निर्वाचनमा पनि प्रमाणित गरिसकेका छौं। यो पटक पनि हामीले हाम्रा कार्यकर्ता र साथीहरूलाई सहमति पालनाका लागि आह्वान गरेका छौं। राप्रपा र एमालेले जे कुरा गर्छन्, त्यो कुरा पूरा गरेर देखाउनुपर्छ। त्यो पूरा गरेर देखाउने अवसर आएको छ।

पार्टीको निर्णयलाई इमानदारीपूर्वक पालना गर्नु सबै नेता कार्यकर्ताको जिम्मेवारी र दायित्व हुन्छ।

दुवै पार्टीका नेता कार्यकर्तालाई त्यसमा तलमाथि गर्ने छुट छैन भन्ने हाम्रो मान्यता हो। मैले कतिपय सन्दर्भमा सहमति पालना नगर्ने कार्यकर्ता भोलि राप्रपाको कार्यकर्ता रहँदैनन् भनेर भनेको छु।

नेकपा एमालेका अध्यक्षले पनि आफ्ना कार्यकर्तालाई त्यही कुरा भन्नु भएको छ। यो निर्णय राजेन्द्र लिङदेनको वा केपी शर्मा ओलीको मात्रै निर्णय होइन। दुवै पार्टीको निर्णय हो। पार्टीको निर्णयलाई इमानदारीपूर्वक पालना गर्नु सबै नेता कार्यकर्ताको जिम्मेवारी र दायित्व हुन्छ। पार्टीको निर्णय पालना नगर्ने कार्यकर्ता कसरी त्यही पार्टीमा रहन सक्छन् ?

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङदेनले आफू सुरक्षित हुन मात्रै तालमेल गरेको हुन भन्ने आरोप छ नि !

यो सत्य होइन। उम्मेदवार भएपछि कसरी सुरक्षित रहने भन्ने कुरा त छँदैछ। तर, हामी त्यसमा मात्र केन्द्रित छैनौं। हामीले पाँचवटा जिल्लामा सहकार्य गरेका छौं। अरू पनि उम्मेदवार हुनुहुन्छ। नेता हुनुहुन्छ।

झापा जिल्लामा पनि प्रदेशसभामा राप्रपाका अन्य उम्मेदवार छन्। त्यसकारण व्यक्ति केन्द्रितभन्दा पनि यसले पार्टीको हितका लागि मद्दत गर्छ भन्ने दृष्टिकोण राखेर हामीले सहकार्य गरेका हौं। यो व्यक्ति केन्द्रित कदापि होइन।

एमालेसँगको समीकरणले मात्रै तपाईंको जित सुनिश्चित हो र ?

कतिवटा दल एकातिर र कतिवटा दल अर्कातिर उभिएका छन् भन्नेभन्दा पनि उनीहरूले कति प्रतिशत मतदाताको भावनाको प्रतिनिधित्व गर्छन् भन्ने कुरा मुख्य हो। हिजो स्थानीय तह निर्वाचनको परिणामको रुझान के छ ? गठबन्धनमा भएका वा तालमेलमा भएका दलहरूले कति मत बोक्छन् ? त्यसबाट गठबन्धन कति शक्तिशाली छ भन्ने कुरा निर्धारण हुने हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको विद्यमान राजनीतिक प्रणाली र नेतृत्वको एउटा वैकल्पिक पार्टी हो। यथास्थितिको अन्त्य र परिवर्तनको पक्षमा मतदान गर्न चाहने सबै मतदाताले मतदान गर्नुपर्ने पार्टी राप्रपा हो।

स्थानीय तहको हाम्रो लोकप्रिय मतको रुझानलाई हेर्ने हो भने यस क्षेत्रमा राप्रपा र एमाले मिलिसकेपछि जितका बारेमा शंका गर्नुपर्ने अवस्था छैन। धेरै हजारको मतान्तर छ। मतान्तर अझै कसरी बढाउन सकिएला भनेर हामी लागेका छौं।

अहिले एमाले र राप्रपा मिलेर चुनाव लडे पनि हामीले भोट पाउने भनेको कांग्रेस कार्यकर्ताको पनि हो। धेरै कांग्रेसका साथीहरूले हामीलाई यसपटक मतदान गर्दै हुनुहुन्छ। माओवादीमा रहेका मतदाता साथीहरूको पनि समर्थन हामीले पाएका छौं। त्यसैले हामीले जित्ने कुरामा कुनै शंका छैन।

मतान्तर कति होला ? केही अनुमान छ ?

अघिल्लो निर्वाचनमा हामीले १४ हजार हाराहारीको मतान्तर कायम गरेका थियौं। यो पटक पनि गठबन्धनले स्थानीय तहमा प्राप्त गरेको लोकप्रिय मत र एमाले र राप्रपाले स्थानीय तहमा प्राप्त गरेको लोकप्रिय मत तथा अन्य परिस्थितिलाई समेत आधार मानेर हेर्दा यसै पनि गणितले देखाएकै छ।

तर, यो पटक मतान्तरचाहिँ दुई गुणाले बढेर जान्छ भन्ने हाम्रो अनुमान छ। हामी त्यो प्रयासमा लागेका पनि छौं। विश्वास छ, हाम्रो प्रयास थप परिणाममुखी हुन्छ।

ठूला दलहरूप्रति जनताको अविश्वास बढ्दै गएको तपाईं स्वयंले भन्दै आउनु भएको छ। आखिर त्यसैको परिणाम हो स्वतन्त्रका नाममा सुरु भएको राजनीतिक अभ्यास ?

दलहरूको अलोकप्रियता नै मुख्य कारण हो। स्वतन्त्रका नाममा मानिस संगठित हुनु भनेको दल र दलहरूका मुख्य नेताको अलोकप्रिय गतिविधि नै मुख्य कारक हो। तर, स्थानीय तहमा जस्तो यो संसदीय राजनीतिमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्रले त्यो परिणाम पनि ल्याउँदैनन्।

स्वतन्त्र रूपमा निर्वाचित मानिसको कार्यकारी भूमिका हुनै सक्दैन। स्वतन्त्र उम्मेदवारका पक्षमा मतदान गर्ने जनताले राखेका अपेक्षा पूरा हुने कुनै सम्भावना नै छैन।

त्यसो भए स्वतन्त्रलाई संसद्मा पुर्‍याउनुको अर्थ छैन ?

मैले त्यो हिसाबले भनेको होइन। तर, पाँच जनाले जिते भने पनि ती एउटा पार्टी होइनन्। पाँच जनाको एउटा मत हुँदैन। त्यहाँ उनीहरूको छुट्टै संसदीय दल हुँदैन। उनीहरूको कुनै छुट्टै एजेन्डा हुँदैन र उनीहरू त्यहाँ गएपछि कुनै न कुनै राजनीतिक दलसँग मिलेर काम गर्नुपर्छ। जनताले अहिले विद्यमान राजनीतिक दलहरूको विकल्पमा स्वतन्त्रलाई मत दिएका हुन्। तर, त्यो धोकाचाहिँ धोकै हो।

राप्रपाले जिते पनि सरकारमा जाँदैनौं भन्नु भएको हो र ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले विगतमा सत्ता केन्द्रित राजनीति गर्दा जुन अलोकप्रियता कमाउनुपर्ने अवस्था आयो, त्यसबाट राप्रपाले निर्मम शिक्षा लिएको छ। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी जसको सरकारमा पायो त्यसैको सरकारमा जाने, जतिबेला पायो त्यति बेला सरकारमा जाने, जुन क्रियाकलाप भयो त्यसले राप्रपा सत्ता केन्द्रित छ र सत्ताका लागि जे पनि गर्छ भन्ने मान्यता स्थापित भयो।

त्यसलाई यसपटक हामी सच्याउन चाहन्छौं। हामी सत्ताभन्दा पनि हाम्रा मुद्दाहरूलाई प्राथमिकतामा राख्न चाहन्छौं। जसको पायो त्यसको सरकारमा र जतिबेला पायो त्यतिबेलै सरकारमा जाने भन्ने विषय हुँदैन। अहिले हामी संसदीय राजनीतिमा छौं।

राम्रो मत प्राप्त गर्न सकेको खण्डमा भोलि राप्रपा सरकारमा जानुपर्ने परिस्थिति आयो भने पनि त्यो राजनीतिक स्थायित्वका लागि मात्रै हुनेछ। मुद्दा र जनअभिमतलाई कदर गर्दै हामी राजनीतिक स्थायित्वको पक्षमा उभिन्छौं।

तपाईंहरू अझै राजसंस्था पुनर्स्थापनाको एजेन्डामा टसमस नहुनुको कारण ?

राजसंस्थाका विषयमा हामीले जुन परिकल्पना गरेका छौं, त्यो हिजो र आजमा फरक छ। हामीले शासकीय स्वरूपका बारेमा कुरा गर्दा पनि पूर्णसमानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था हुनुपर्छ भनेर भनेका छौं। यो देशको आवश्यकता पनि हो।

विगत डेढ दशकको राजनीतिक अभ्यासले पनि यसको पुष्टि गरेको छ। कुनै न कुनै प्रकारको राजसंस्था देशका लागि आवश्यक छ भनेर प्रमाणित भइसकेको छ। त्यसैले राजसंस्थाको मुद्दा अब एउटा पार्टी विशेषको मात्रै होइन, समग्र देशको मुद्दाका रूपमा विकसित हुँदैछ।

आवश्यकताको रूपमा स्थापित हुँदैछ। कालान्तरमा यसले एउटा परिणाम प्राप्त गर्छ भन्ने हाम्रो विश्वास छ।

आफ्नो निर्वाचन क्षेत्रमा के विकास गर्नुभयो र फेरि जनताले तपाईंलाई नै किन भोट दिने ?

झापा क्षेत्र नम्बर ३ कर्णालीका रूपमै चिनिन्थ्यो। मेची र बिरिङ नदीले घेरिएर बनेको यो निर्वाचन क्षेत्रमा पछिल्लो समय विकासका काम अगाडि बढेका छन्। यी दुइटा नदीले दिएको दुःख भनेर साध्य छैन। जैविक विविधताले भरिएको नेपालको एकमात्र जलथल जंगल हामीसँग छ।

त्यो पनि यहाँका जनताको पीडाको रूपमा थियो। पछिल्लो दिनमा नदी नियन्त्रणको काम भएको छ। जंगली हात्तीको समस्या यो क्षेत्रमा पनि ठूलो छ। त्यसको नियन्त्रणका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार लगाइएको छ। यसबाट पनि जनताले राहत महसुस गरेका छन्।

पिण्डलबारी अँध्यारोमा थियो। अहिले बिजुली बल्छ। ग्राभेल सडक पुगेको छ। स्वास्थ्यचौकी स्थापना भएको छ। अब त्यहाँसम्म जान झोलुंगे पुल बन्दैछ। झापा ३ मा सडकहरू धमाधम बनिरहेका छन्। कालोपत्र सडकले नछोएको कुनै वडा छैन।

झापा क्षेत्र नम्बर ३ विकासको मूलप्रवाहमा आइसकेको छ। अरू निर्वाचन क्षेत्रसँग कुम मिलाउन सक्ने तागत मेरो निर्वाचन क्षेत्रसँग छ। २५ वर्षमा कांग्रेसले नगरेको काम पाँच वर्षमा हामीले गरेर देखाएका छौं। त्यसको साक्षी यहाँका जनता छन्।

सौर्य ऊर्जामा आधारित विद्युतीय तारबारको प्रभावकारिताबारे प्रश्न उठ्दै आएको छ। कतै राज्यको लगानी खेर त गइरहेको छैन ?

प्रविधि स्वयंको प्रभावकारिता कमजोर होइन। त्यसको संरक्षणमा भएका प्रयासहरू प्रभावकारी भए कि भएनन् भन्ने प्रश्नचाहिँ महत्वपूर्ण हो। हेरचाह र संरक्षण महत्वपूर्ण कुरा हो। स्थानीय सामुदायिक वन समूहले त्यसको संरक्षण र रेखदेखमा सक्रियता र चासो देखाएका छन्। यसबा बाबजुद व्याट्री निकालेर लैजाने, काठ तस्करीका लागि तार काट्नेलगायतका काम पनि भएका छन्।

नेपालको सबैभन्दा होचो कचनकवलको जैविक विविधता संरक्षणका लागि कुनै काम भएन भन्ने गुनासो छ नि !

हामीले यस क्षेत्रको नेतृत्व गर्न पाएपछि दुनियाँले जलथल जंगल असाधारण जंगल रहेछ भनेर थाहा पायो। विभिन्न संस्थाहरूले जलथल जंगलको जैविक विविधताका विषयमा अध्ययन गरिरहेका छन्।

एउटै जंगलभित्र ३ सय ५० भन्दा बढी प्रजातिका बोटबिरुवा पाइन्छन्। यसको संरक्षण र विकासमा योजना अगाडि सारिएको छ। केचना नेपालको होचो ठाउँ हो। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान गरिरहेको छ। यसको विकास र प्रवर्द्धनमा पनि हामीले काम गरेका छौं।

चुनाव हारे पनि जिते पनि उहाँ यस क्षेत्रको नेताका रूपमा रहनुभएको छ। जब म निर्वाचित भएर विकासका काम अगाडि बढाएँ, अनि अहिले उहाँको होस् आयो।

जस अपजसको विषय लाजमर्दाे कुरा हो। तपाईंले प्रतिपक्षी उम्मेदवार कृष्णप्रसाद सिटौला र उहाँका कार्यकर्ताले छरेको भ्रमका विषयमा कुरा उठाउनुभएको होला।

उहाँले बहुदलीय व्यवस्था आएदेखि यो क्षेत्रको नेतृत्व गरिराख्नु भएको छ। चुनाव हारे पनि जिते पनि उहाँ यस क्षेत्रको नेताका रूपमा रहनुभएको छ। जब म निर्वाचित भएर विकासका काम अगाडि बढाएँ, अनि अहिले उहाँको होस् आयो। उहाँले गरेको केही छैन।

अहिले चुनावका बेलामा जस लिन खोजेर जनताले पत्याउँदैनन्। भएका कामलाई मैले गरेको हो भनेर उहाँ भन्दै हिँड्नु हुन्छ। उहाँका कार्यकर्ता त्यसैमा स्वर मिलाइरहेका छन्। अहिले भएका कामलाई उहाँले गरेको मान्ने हो भने उहाँले त हार्दा मात्रै काम गर्नु हुनेरहेछ।

राप्रपाले कति सिट जित्ने अनुमान गर्नुभएको छ ?

यति उति भन्नेभन्दा पनि राप्रपा यो पटक अप्रत्यासित मत परिणामसहित संसद्मा उपस्थित हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको विद्यमान राजनीतिक प्रणाली र नेतृत्वको एउटा वैकल्पिक पार्टी हो। यथास्थितिको अन्त्य र परिवर्तनको पक्षमा मतदान गर्न चाहने सबै मतदाताले मतदान गर्नुपर्ने पार्टी राप्रपा हो।

शासकीय स्वरूपको विषयमा होस् वा निर्वाचन प्रणाली वा विकास र सुशासनको मुद्दा होस, नेपालको राजनीतिमा एउटा प्रष्ट दृष्टिकोण भएको पार्टी हो। यथास्थितिको विकल्प चाहने जनताले हामीलाई मतदान गर्छन्।

अन्नपूर्ण पाेस्टबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?